काठमाडौं, २९ माघ । टर्की र सिरियामा गएको शक्तिशाली भुकम्पमा परेर हालसम्म मृत्यु हुनेको संख्या २८ हजार नजिक पुगेको छ । भुकम्प गएको क्षेत्रमा रहेका नेपालीहरु सुरक्षित रहेको जनाइएको छ । उनीहरु सुरक्षित स्थानतर्फ गइरहेका छन् ।
हालसम्म नेपालीहरुको मृत्युुको समाचार नआएको गैरआवासीय नेपाली संघ टर्कीले जनाएको छ । संघको अनुुसार समस्यामा परेकाहरुलाई समन्वय गरी सहजीकरण भइरहेको छ । भुकम्प पीडित क्षेत्रमा रहेका घरेलु कामदार,होटलमा काम गर्ने र विद्यार्थी ३० जना सुरक्षित स्थानमा सिफ्ट भएका छन् । ३० जना मध्ये १४ जना विद्यार्थी र अरु घरेलु कामदार हुन् । टर्कीमा रहेका नेपालीहरुले नेपाल फर्कन खोजिरहेका छन् । त्यहाँका विश्वविद्यालयहरु अहिले बन्द भएका छन् ।
छात्रवृत्तिमा अध्ययनका लागि पुुगेका विद्यार्थीहरु छात्रवृत्तिमा असर नपुुग्नेगरी घर फर्कन चाहेको बुझिएको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि ५ वर्ष यता ५ हजार ५ सय १६ जना टर्की पुुगेका छन् । त्यसमध्ये ३ हजार ४ सय ८८ पुरुष र २ हजार २८ जना महिला छन् । तर टर्की र सिरियामा कति नेपाली छन् भन्ने सरकारसँग तंथ्याकं भने छैन् । दुुई देशमा गत सोमबार ७.८ र ७.५ रेक्टर स्केलका भुकम्प गएको थियो ।
भूकम्पपछि धेरै भवन पूर्णरुपमा ध्वस्त भएका छन् । धेरै मानिस भग्नावशेषमा पुरिएका छन् । उद्धार कार्य जारी छ। भूकम्पले त्यहाँ खतरनाक विनाश निम्त्याएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । अहिलेसम्म २८ हजार १९२ जनाको मृत्यु भइसकेको छ । घाइतेको संख्या ७८ हजार नाघेको छ । यसैबीच, संयुक्त राष्ट्रसंघीय सहायता पठाउने इकाईका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्पबाट मृत्यु हुनेको संख्या दोब्बर हुनसक्ने बताएका छन् । भग्नावशेष सफा गरेपछि शव निकालिनेछ। उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । तर कहिले रोकिने हो थाहा छैन ।




