अर्थतन्त्र चलायमान बनाउन तत्काल पूरक बजेट ल्याउन अर्थविद्हरुको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

अर्थतन्त्र चलायमान बनाउन तत्काल पूरक बजेट ल्याउन अर्थविद्हरुको सुझाव

काठमाडौं । अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले सरकारले चलायमान अर्थतन्त्र बनाउन औचित्य पुष्टि हुनेगरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिए । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको उनीहरुको भनाइ छ । अर्थविद् डा.डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य समेट भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताउनु भयो । खर्च कटौति गर्न पनि पूरक बजेट आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालले सरकारले लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताउनु भयो । अनौपचारिक खर्च रोक्न पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाइ नयाँ परियोजना,कार्यक्रम र निजी क्षेत्रको समस्या समाधान गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

त्यस्तै,नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने प्रष्ट पार्नुभयो । उहाँले वर्तमान सरकारलाई सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्री अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुनपर्नेमा जोड दिनुभयो ।

पूर्वगभर्नर क्षेत्रीले सरकारले भ्रष्टाचार न्युनिकरणका निम्ति शून्य सहनशीलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply