नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार भारतका मोन्टी देशाईलाई औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक घोषणा गरेको छ ।

क्यानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर भारतीय मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । तर यसअघि मोन्टी देशाई नेपाल आएर माघ १५ गतेबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । सार्वजनिक गरिएको कार्यक्रममा क्यानले देशाईसँग दुई वर्षे सम्झौता गरेको क्यानले जानकारी दियो । यससँगै एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट सम्हाल्ने देशाई छैटांै प्रशिक्षक भएका छन् । एक दिवसीय मान्यता पछि नेपाली टोलीलाई यसअघि जगत टमाटा, उमेश पटुवाल, डेभ ह्वाटमेयर, पुबुदु दाशानायके र मनोज प्रभाकरले प्रशिक्षण गरेका थिए ।

सोमवार आयोजित औपचारिक प्रशिक्षक घोषणा कार्यक्रममा मुख्य प्रशिक्षक मोन्टी देशाईले आफ्नो पहिलो लक्ष्य ड्रेसिङ रुमलाई खुशी बनाउँदै एक ढिक्काको क्रिकेट टोली बनाउने योजना रहेको सुनाए । नियुक्ती पहिलो नेपाली टोलीसँग जोडिएर एक साता बिताएका देशाईले खेलाडीमा राम्रो क्षमता भएको र उनीहरुको क्षमता योजना अनुसार कार्यन्वयन हुँदा राम्रो नतिजा निस्किने औंल्याउनु भयो । नेपाली क्रिकेटले एक दिवसीय मायन्यता प्राप्त गर्दा आपूm प्रत्यक्षदर्शी रहेको र अहिले खेलाडीमा पनि राम्रो नतिजा निकाल्ने सम्भावना रहेको भन्दै नेपाली क्रिकेटले आगामी दिनमा सुखद् नतिजा दिलाउने बताउनु भयो । खेलाडीमा सिक्ने भोक रहेको र सिमित श्रोत र सधानबाट उनीहरुको मेहेनेतले आफू प्रभावित भएको बताउनु भयो ।

तत्कालिन मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक बिहीन रहेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेपनि सम्झौता सकिनुअघि नै प्रभाकरले पद छोडेका थिए । उनको प्रशिक्षणमा नेपाली टोली आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–दुई अन्तर्गत नामिबिया भ्रमण गर्दा अपेक्षा अनुसारको प्रदर्शन गरेको थिएन । त्यसपछि रिक्त पदमा क्यानले देशालाई नियुक्त गरेको हो । नेपालले फागुन २ गतेबाट घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ । त्यसका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । बन्द प्रशिक्षणमा अहिले दोस्रो चरणका खेलाडीले अभ्यास गरिरहेका छन् । जसमा नाबालिका बलात्कार आरोप लागेर धरौटिमा रिहा भएका सन्दीप लामिछाने पनि अटाएका छन् । निलम्वन फुकुवा गरेर सन्दीपलाई बन्द प्रशिक्षणमा राखेपछि क्यानको चौतर्फी आलोचना भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई टिममा राख्नेरनराख्ने निर्णय प्रशिक्षक र छनोट समितिले लिने बताउँदै टोलीमा समावेश गर्न दबाब दिन नसक्ने बताउनु भयो । शारीरिक र मानसिक हिसावमा अब्बल र टिममा आवश्यकता अनुसार निर्णय हुने बताउनु भयो । चौतर्फी आलोचनाले सन्दीपलाई राख्नैपर्छ वा हटाउनै पर्छ भन्ने क्यानको धारण नभएको स्पष्ट पार्नुभयो ।

नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा फागुन २ र ६ मा नामिबिया तथा फागुन ५ र ९ गते स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी स्कटल्याण्ड र नामिबियाबीच फागुन ३ र ८ गते प्रतिष्पर्धा हुनेछ । लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा सकिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले ४४, अमेरिकाले ३५, युएईले २७ र पपुवा न्युगिनीले ५ अंक जोडेका छन् । उनीहरु क्रमशः तालिकाको दोस्रो, चौथो, पाँचौं र अन्तिम स्थानमा छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएका देशाई सन् २०१८ मा अफगानिस्तान र सन् २०१९ को अक्टोबरमा युनाइटेड अरब इमिरेट्स (युएई) को ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । २०१९ मै उनले विश्वकप क्रिकेट लिग–२ का लागि क्यानडाको मुख्य प्रशिक्षण सम्हालेका थिए । सोही वर्ष उनी दुई वर्षको सम्झौतासहित वेस्ट इन्जिड क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०१७ मा नेपाली यु–१९ टोलीले यु–१९ एशिया कपमा भारतलाई हराउँदा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आवद्ध थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);