राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल

काठमाडौं, १७ माघ । राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ । गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउने नेकपा (माओवादी केन्द्र) को निर्णयका कारण गठबन्धनभित्र विवाद उत्पन्न भएको हो ।

त्यस्तै, नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री पद गुमापछि गृहमन्त्री कसलाई बनाउने र राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री र सत्ता सहयात्राका मुख्य पात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । प्रचण्डले गृह मन्त्रालय आफैंले राख्ने र राष्ट्रपति साझा व्यक्ति बनाउने संकेत गरेपछि एमाले अध्यक्ष ओली झस्कनुभएको छ ।

ओलीले लामिछानेलाई नै फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिनुभएको छ । एमालेका नेता विशाल भट्टराईले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सत्तारुढ दलबीच भएको सहमतिअनुसार गृहमन्त्री रास्वपाले नै पाएकाले रवि जीलाई गृहमन्त्री बनाउने कुरामा एमाले सकारात्मक छ । उहाँलाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, नागरिकताको त्रुटि सच्चिसकेकाले जिम्मेवारी दिनुपर्ने हुन्छ । गैर सांसदका सन्दर्भमा यही रास्वपाले रवि बाहेकका सांसदलाई निर्णय गरेर पठाउँदा पनि एमालेले स्वीकार गर्छ ।’

तर, गृह मन्त्रालयका विषयमा माओवादी केन्द्रका नेताहरूले पदाधिकारी बैठकमा गृहमन्त्री आफ्नै पार्टीले लिनुपर्ने धारणा जोडतोडका साथ उठाएको बताइएको छ । बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृहमन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखे पनि कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्रीले गर्ने उपाध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो ।

प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय आफूले राख्नुपर्ने दबाब पार्टीभित्र बढेको कुरालाई स्वीकार गर्दै महराले भन्नुभयो– ‘अहिले रवि जीले गृह मन्त्रीबाट राजीनामा दिएपछि उक्त मन्त्रालय पार्टीले लिनुपर्छ भन्ने छलफल चलेकै छ । तर, सत्ता साझेदार दलहरूसमेतको सहमति आवश्यक छ ।’ रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा माओवादी नेताहरूले राखेका छन् ।

माओवादीले राष्ट्रपतिसमेत राष्ट्रिय सहमतिका आधारमा निर्वाचित गराउने निर्णय नै गरिसकेको नेताहरूले बताएका छन् । पार्टी सचिव रामकुमार कार्कीले सबै दलहरूलाई स्वीकार्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘साझा सहमतिअनुसार नै राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो । प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत स्वीकार गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पार्टीको बैठकमा समेत दबाब बढेको छ ।’ साझा सहमतिका नाममा गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने विषयमा भने पार्टीमा कुनै छलफल नभएको कार्कीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘जो भए पनि राजनीतिक व्यक्ति नै जाने हो । तर, कांग्रेस समेतले स्वीकार गर्ने गरी जाने भन्ने छलफलले प्राथमिकता पाएको छ । गृहमन्त्रीका विषयमा भने मंगलबार बस्ने पार्टीको बैठकमा छलफल हुनेछ ।’

राष्ट्रपतिको विषयमा देशी विदेशी शक्तिको व्यापक दबाब रहेकाले थेग्न नसकेर माओवादीले साझा व्यक्ति बनाउने भन्ने निर्णय गर्न बाध्य भएको एमालेका नेता विशाल भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो– ‘राज्यका सबै पदहरू एमालेलाई किन सुम्पिन्छस् भनेर देशी विदेशी शक्तिहरूले दबाब दिइरहेका छन्, त्यही दबाब थेग्न नसकेपछि माओवादीलाई अप्ठ्यारो परेर साझा व्यक्ति भनेको हो । तर, राष्ट्रपति एमालेकै हुन्छ ।’

एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारमा बाहेक राष्ट्रिय सहमति हुनसक्ने सम्भावना नरहेको बताउँदै आउनुभएको छ । अध्यक्ष ओलीको चाहानाअनुसारको राष्ट्रपति बनाउँदा सबैतिरबाट शक्ति सञ्चय गरेर आफूलाई गलहत्याउने डर प्रचण्डलाई छ । ओलीलाई हालमा सबै शक्ति दिएको खण्डमा संसद् पूर्ण कार्यकालसम्म टिक्न नसक्ने सम्भावनालाई ख्याल गर्दै संविधानको संरक्षक भएर काम गर्ने साझा व्यक्ति राष्ट्रपति बनाउनुपर्ने माओवादी नेताहरूको धारणा छ ।

गत पुस २६ मा सरकारलाई विश्वासको मत दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत राष्ट्रपतिको दाबी गरेको छ । सरकारलाई विश्वासको मत दिएको कांग्रेसको चित्त दुखाउन नहुने पक्षमा रहेका प्रधानमन्त्री प्रचण्डलाई साढे २ वर्षपछि सरकारको नेतृत्वसमेत एमालेले गर्ने हुँदा त्यसबेला राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसमेत एमालेकै हुने भएकाले एमालेले संविधानविपरीत पुन संसद् विघटन गर्छ की रु भन्ने त्रास बढेको एक नेताले बताए ।

एमालेलाई साइजमा राख्न भए पनि प्रधानमन्त्री प्रचण्ड सकभर एमालेबाहेकको व्यक्तिलाई नै राष्ट्रपति बनाउने चाहनामा हुनुहुन्छ । सत्ताको भरथेग गर्ने ओलीभन्दा चुनावी सहकार्य गरेको कांग्रेसप्रति चलकता अपनाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा सबैलाई स्वीकार्य पात्र खोज्नुपर्ने पक्षमा उभिनुभएका प्रचण्ड र सरकार गठनका बेला भएको सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको एमालेबीच शक्ति वितरणमा विवाद चुलिएको छ । कतिपयले यी दुई विषयमा भइरहेका विवादले वर्तमान सत्ता समीकरणमा फेरबदल ल्याउने आँकलन गरेका छन् । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);