काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भएका छन् ।
कांग्रेस लगायतका पाँच दललाई छाडेर अचानक ओलीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड ओलीले चौतर्फी घेराबन्दी गरेको भन्दै रुष्ट भएका हुन् । उनले आज बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा समेत यसबारे कुरा उठाएको स्रोतले बताएको छ ।
प्रचण्डले दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङ्देन मार्फत ओलीले आफुलाई घेराबन्दीमा पारेको बताएका थिए । आफुले काम गर्न खोज्दापनि नसकेको भन्दै प्रचण्डले अबको बाटोबारे समेत बैठकमा खुलाएका थिए ।
राष्ट्रपति चयन राष्ट्रिय सहमति अनुसार गर्ने अभिव्यक्ति दिदै आएका प्रधानमन्त्री प्रचण्ड पछिल्लो समय देउवासँग नजिकिएका छन् । माओवादीका एक नेताका अनुसार प्रचण्ड पुनः देउवासँग गठबन्धन गर्ने मनसायमा पुगेका छन् ।
प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुने अभिव्यक्ति दिएपछि सशंकीत भएका एमाले अध्यक्ष ओलीले पछिल्लो समय मन्त्रीहरु मार्फत प्रधानमन्त्री माथि दबाब बढाउन खोजेका छन् ।
राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनले सार्बजनिक कार्यक्रमहरुमा संघियता विरोधी आवाजहरु उठाइरहेका छन् । यसबाट पनि रुष्ट भएका प्रचण्डले मंगलबार बसेको राष्ट्रिय सभामा आक्रोश पोखिसकेका छन् । राष्ट्रिय सभाको रोष्टमबाटै प्रधानमन्त्री प्रचण्डले सरकारमै बसेर संविधानको विरुद्ध बोल्न नपाइने भन्दै स्पष्टिकरण सम्म सोध्न सक्ने चेतावनी दिए ।
यसरी पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्दा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच खटपट बढेको स्पष्ट बुझिएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लाग्दा दलहरुले निर्वाचनको मिति समेत तह गर्न सकेका छैनन् । सत्तामा रहेका दल मात्र होइन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत राष्ट्रपतिको कुर्सीमा आखा लगाएको छ ।
आफुलाई विश्वासको मत दिएको कांग्रेसको यो आकांक्षाप्रति प्रधानमन्त्री प्रचण्ड पनि नकारात्मक छैनन् । प्रचण्डको कांग्रेस प्रतिको सदासयता देखेर ओली भने खुसी छैनन् ।