काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन आज चीन जाँदै हुनुहुन्छ ।
चीनको हाइनान प्रान्तको बोआओ सहरमा सम्मेलन हुने छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनुहुनेछ ।
प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लाग्नुभएको हो ।
बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोही दिन अपराह्न उहाँ बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्नुहुनेछ ।
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल चैत १६ गते बुधबार स्वदेश फर्कनुहुनेछ ।