को हुन् देवराज घिमिरे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

को हुन् देवराज घिमिरे ?

माउण्टेन टेलिभिजन एचडी

काठमाडौं । पहिलो पटक सांसदमा निर्वाचित भएर सभामुख जस्तो महत्वपूर्ण पदमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभयो । झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीको निकटतम विश्वासपात्र मध्येका एक नेता हुनुहुन्छ ।

झापा विर्तामोड निवासी ६६ बर्षीय घिमिरे एमालेभित्र निष्ठावान नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ छैटौं महाधिवेशनदेखि निरन्तररुप एमालेभित्र ओलीलाई साथ दिँदै आउनु भएको छ । २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिनुभएका घिमिरे विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा गाउँगाउँ पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय हुनुहुन्थ्यो । घिमिरे २०३५ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी–माले (कोके) मार्फत् नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो ।

२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिनुभएका उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । घिमिरे पार्टी संगठन निर्माणका क्रममा इलाममा मात्र लगातार १० वर्ष समय विताउनुभएको थियो । त्यसक्रममा उहाँविरुद्ध तत्कालीन पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी भएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएका घिमिरेले १२ वर्ष भूमिगत राजनीतिमा विताउनुभएको छ । २०४९ मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका उहाँ २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो ।

संसदीय अनुभवमा उहाँको त्यो पहिलो पाइला थियो । घिमिरेले पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसपछि लगातार इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको इन्चार्जको जिम्मेवारी निर्वाहा गर्नुभएको छ । एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो ।

एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो । एमालेको दसौं महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा स्थापित हुनुभयो । मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्वसहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अहिले सिंगो प्रतिनिधिसभावको नेतृत्व गर्ने जिम्मेवारी पाउनु भएको छ । प्रतिनिधि सभालाई गतिशिल बनाउन उहाँको भूमिका कस्तो होला प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);