काठमाडौं– राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद गौतमले आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार केपी ओली भएको टिप्पणी गरेका हुन् । तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाई थियो । उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।
सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भन्दै प्रचण्डलाई धन्यवाद समेत दिएका छन् । उनले सरकारलाई विश्वासको मत दिएकोमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे ।