काठमाडौं, २८ पौष । बिहीबार प्रदेश १ मा सभामुखको निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेसँगै गौतम निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।
सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । उनी ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतमको माओवादी जनयुद्धमा योगदान रहेको छ ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । गठबन्धनबीचको भागबन्डामा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।
सभामुख माओवादी केन्द्रको भागमा परेको छ । उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।




