कर्णाली प्रदेशमा एक तिहाइ पुरानै उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कर्णाली प्रदेशमा एक तिहाइ पुरानै उम्मेदवार

सुर्खेत । अघिल्लाे प्रदेशसभाका ४० सदस्यमध्ये एक तिहाइले यसपटक पनि उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्येबाट प्रतिनिधिसभा र प्रदेशसभामा रहेका १४ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशसभाको सदस्य बन्ने दौडमा नौ जना पुराना अनुहार दोहोरिएका छन् भने चार जना निवर्तमान प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सुर्खेत-१ ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्ट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनी माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । नेकपा विभाजनपछि एमाले रोजेका उनलाई अहिले फेरि एमालेले पनि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ।

सुर्खेत-२ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् । कँडेल ०७४ सालको निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए । अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

माओवादी केन्द्रले सुर्खेत-२ ‘ख’ मा निवर्तमान प्रदेशसभा सदस्य विन्दमान विष्टलाई नै टिकट दिएको छ । उनले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । विष्ट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत हुन् ।

दैलेख-१ ‘क’बाट ०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उनलाई अहिले एमालेले उम्मेदवारका लागि अघि बढाएको छ । रेग्मीले पनि नेकपा बिघटनपछि एमाले रोजेका थिए ।

सल्यान प्रदेशसभा ‘ख’ बाट निवर्तमान प्रदेशसभा सदस्य गुलाबजंग शाह यसपटक पनि उम्मेदवार बनेका छन् । हालका मुख्यमन्त्री जीवनबहादुर शाही फेरि प्रदेशसभा सदस्यकै लागि चुनावी प्रतिस्पर्धा गर्दैछन् । शाही अघिल्लो पटक कांग्रेसबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एक्ला सदस्य हुन् ।

हुम्ला प्रदेशसभा ‘ख’ को उम्मेदवारका लागि मनोनयन दर्ता गराएका उनलाई अहिले सत्ता गठबन्धनको साथ छ । जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका रोकाय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् । यसपटक सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ ।

पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले यसपटक प्रतिनिधिसभा रोजेका छन् । उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि उनले एक मात्र क्षेत्र रहेको कालीकोटबाट मनोनयन दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा हुम्लाबाट प्रदेशसभा सदस्य निर्वाचित एमालेका दल रावल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

उनी कर्णाली प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् । निवर्तमान प्रदेशसभा सदस्य अमरबहादुर थापा यसपटक प्रतिनिधिसभा सदस्यको दौडमा छन् । उनले दैलेख-१ बाट सत्ता गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । ०७४ सालमा एमालेबाट प्रदेशमा निर्वाचित थापा हाल नेकपा एसमा छन् ।

पहिलो कार्यकालमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित प्रकाश ज्वाला यसपटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका छन् । सल्यानबाट निर्वाचित उनले एमाले विभाजनपछि नेकपा एस रोजेका थिए । उनी कर्णाली सरकारका पूर्वमन्त्री समेत हुन् । ज्वाला यसअघि पनि प्रतिनिधिसभाको सांसद भइसकेका छन् । अहिले उनलाई सत्ता गठबन्धनको साथ छ । नेकपा एमालेले सुरुमा एकल सिफारिस गरेर उम्मेदवार बनाएको डोल्पाकी बदमी क्वारी बोहोरालाई अन्तिममा टिकट नदिएपछि प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार  बनेकी छन् ।

कर्णाली प्रदेशसभाका ४० मध्ये २७ जना निर्वतमान सदस्यले यसपालि टिकट नै पाएनन् । पहिलो कार्यकालमा कर्णालीको सभामुख बनेका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाएका हुन् । घर्ती माओवादी केन्द्रबाट समानुपातितर्फ सिफारिस भए पनि बन्द सूचीमा परिनन् ।

अमृता शाहीलाई कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस गरे पनि उनले अन्तिममा टिकट पाइनन् । प्रदेशसभा सदस्य करवीर शाही, कृष्ण शाह, कौशिलावती खत्री, खड्कबहादुर खत्री, गणेशप्रसाद सिंह, गोपाल शर्मा, चन्द्रबहादुर शाही, झोवा विक, दानसिंह परियार र दिनबन्धु श्रेष्ठले पनि टिकट पाएनन् ।

एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भए पनि अन्तिममा पार्टीले उनलाई टिकट दिएन । खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, निवर्तमान प्रदेशसभा सदस्य देवी ओली, नरेश भण्डारी, पद्मा खड्का, मिनासिंह रखाल, यज्ञबहादुर बुढाक्षेत्री, राजु नेपाली, रातो कामी, विमला केसी, सीता नेपाली, सुशील थापा, हिमबहादुर शाही, शोसिला शाही र नन्दसिंह बुढाले पनि यसपालि उम्मेदवार बन्ने अवसर नपाएका हुन् । दलहरूले समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् ।

कर्णालीमा अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका पाँच जना यसपटक पनि सोही पदको दौडमा छन् । पार्टीले उनीहरूलाई दोहोर्याएर प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो । एमालेले सुर्खेतमा प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्रमध्ये एउटामा निवर्तमान प्रतिनिधिसभा सदस्यलाई नै उम्मेदवारका लागि मनोनयन दर्ता गराएको छ ।

सुर्खेत-१ मा ध्रुवकुमार शाहीले अहिले पनि टिकट पाएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजय भोगेका पूर्णबहादुर खड्कालाई सुर्खेत-१ र हृदयराम थानीलाई सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । एमालेले दैलेख-१ बाट प्रतिनिधिसभा सदस्यका लागि यसपालि पनि निर्वतमान प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मालाई उम्मेदवार बन्ने मौका दिएको छ ।

डोल्पाबाट धनबहादुर बुढाले फेरि पनि प्रतिनिधिसभाको टिकट पाएका छन् । जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई यसपालि पनि प्रतिनिधिसभाको टिकट दिइएको छ । ०७० सालको दोस्रो संविधानसभा सदस्यमा निर्वाचन भएका बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्यमा पनि विजयी भएका थिए । यसपटक पनि उनी सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् ।

रुकुम–पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मालाई नै प्रतिनिधिसभाको टिकट दिइएको छ । उनी ०६४ सालको संविधानसभा सदस्यको निर्वाचनयता लगातार उम्मेदवार बनेर संसद प्रतिनिधित्व गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);