दीपेश केसी, माउण्टेन टेलिभिजन । गोर्खा राज्यको उदय निकै कष्टसाथ भएको थियो । केही व्यक्तिहरुले बस्ती बसालेका थिए । बाबुराम आचार्य आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा लेख्नुहुन्छः काली पश्चिमका प्रदेशमा आवादी बढेर बसाईँको खोज गर्दै अनेक परिवार पूर्वतिर लाग्दै थिए । त्यसमध्येका इस्माका नारायणदास अज्र्याल, अर्घाका सर्वेश्वर खनाल, कुमाउँका गणेश पाँडे र भगीरथ पन्थलाई द्रव्य शाहले यसै डाँडामा बसाई आफू रहने कच्ची छाना भएको पत्थरको घर बनाई त्यो नाथ मूर्तिलाई गोरखनाथ को मूर्ति मानेर नयाँ बसाएका बस्तीको नाम पनि गोर्खा गाउँ राखे ।
गोर्खाका वृद्ध राजा पृथ्वीपति शाह नरभूपाल शाहको विवाह मुकुटधारी कुनै चौबीसीराजाकी छोरीसँग गराउन चाहनुहुन्थ्यो । तर, गोर्खाली राजा र रैती धनी थिएनन् । न खानी थियो न ठूलो बन्दव्यापार । त्यसैले धनी ठहुराईका राजाहरु गोर्खाली युवराजलाई आफ्नी छोरी दिन चाहँदैनथे । तर, पृथ्वीपति शाहको प्रस्ताव चौबीसीठकुराइका राजाले मानी चन्द्रप्रभावतीको विवाह नरभूपाल शाहसँग गराउन राजी हुनुभयो । पछि पाल्पाली राजा गन्दर्व सेनकी छोरी कौशल्यावतीसँग पनि विवाह भयो ।
७ जनवरी सन् १७२३ अर्थात् वि.सं. १७७९ का रात्रीमा आधारात हुनुभन्दा पहिले नै माहिली रानी कौशल्यावतीको गर्भबाट पृथ्वीनारायण शाहको जन्म भयो । बाबुराम आचार्य आफ्नो पुस्तकमा पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ पौषकृष्ण अमावस्था परशुक्ल प्रतिपदाका रात्रिगत घटी १० पल १९ वृहस्पतिवारमा भएको उल्लेख गर्नुहुन्छ । बाबुराम आचार्य लेख्नुहुन्छः पृथ्वीनारायण शाह बालककालदेखि नै चतुर, प्रतिभाशाली र होनहार थिए । हाँडेओखर, डण्डीबियो, भकुण्डो र कुस्ती खेल्दै हुर्किए । नौ वर्षको उमेरबाट घोडा चढ्ने अभ्यास गराइयो ।
पृथ्वीनारायण शाहलाई दरौदीमा पौडी खेल्ने अभ्यास गराइन्थ्यो । एक दिन पौडी खेलेर थकाइ मारेका समयमा केही पर उखुबारीमा पाकिरहेका उखुका लाँक्रा देखेर युवराज पृथ्वीनारायण शाहलाई लाँक्रा चुस्ने इच्छा भयो र साथीहरुलाई समेत लिई केशवद्वारेको बारीमा गई लाँक्रा भाँची चपाई फर्किनुभएको थियो । दरबारका खवास केशवद्वारे रानी चन्द्रप्रभालाई उखु चोरी खाएको भन्न पुगे । चन्द्रप्रभाले युवराज पृथ्वीनारायणलाई बोलाएरः तिमी ता राजा हौ । रैतीलाई राजी राखेर रजाईँ गर्नुपर्नेमा यसो किन ग¥यौं भनेर हप्काउनुभयो । यसरी पृथ्वीनारायण शाहलाई सानैदेखि सबैको सम्मान गर्न र जनतालाई रिझाएर राज्यका लागि आवश्यक कर लिनुपर्ने सिकाइएको थियो ।