आर्थिक हिनामिनाको आरोप लागेका उपरथी शाही हिरासतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आर्थिक हिनामिनाको आरोप लागेका उपरथी शाही हिरासतमा

काठमाडौं । पद र शक्तिको आडमा सेनाको उच्च पदमा रहँदै आएका नेपाली सेनाका एक बहालवाला उपरथीलाई सैनिक मुख्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

सैनिक मुख्यालयले उपरथी प्रेम शाहीलाई सैनिक मुख्यालयबाटै नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेको हो । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा कार्यरत रहँदा उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको अभियोगमा सैनिक मुख्यालयले छानबिन शुरू गरेको थियो ।

औषधिदेखि विभिन्न सामान खरिदमा भ्रष्टाचार गरेको भन्दै सैनिक मुख्यालयले छानबिन शुरू गरेको थियो । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सैनिक सहायक भएर बसेका शाहीले त्यस बेला शक्तिको दुरूपयोग गरी छानबिन प्रक्रियालाई प्रभावित पारेको सैनिक उच्चस्रोतले जानकारी दिएको छ ।

छाउनी अस्पतालमा प्रशासन प्रमुखका रूपमा कार्यरत रहँदा शाहीले करोडौं रुपियाँको खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । उमेर विवादका कारण आज बुधबारबाट अनिवार्य अवकासमा जान लागेका शाहीले दुईवटा जन्ममिति राखेर सेनामा जागिर खानुभएको थियो ।

सेनाको विभिन्न पदमा एउटा जन्म मिति देखाएर सरुवा, बढुवा र विदेशमा दिइने तालिममा समेत सहभागी हुँदै आएका उपरथी शाहीले अवकासमा जाने भएपछि सिटरोलमा भरेको दुईवटा जन्म मितिमध्ये थप एक वर्ष जागिर खान पाउने जन्ममिति देखाएर अदालतमा मुद्दा दायर गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहँदै सैनिक मुख्यालयले अवकास दिन लागेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

उच्च सैनिक अधिकारीले अनिवार्य अवकास जानुअघि १५ दिन अघिबाट बिदामा बस्ने प्रचलन रहेको छ । सोही प्रचलनअनुरूप शाही पुस ५ गतेबाट आफ्नो विभागको जिम्मेवारी बुझाएर बिदामा बस्नुभएको थियो । यसैबीचमा सर्वोच्च अदालतले उपरथी शाहीको जन्म मितिका आधारमा अझै एक वर्ष पदमा वहाल गर्नु भन्दै अनिवार्य अवकास नदिन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुरूप उपरथी शाही सोमबार पनि जंगी अड्डा गए पनि हाजिर गर्न भने कतै जानुभएन । हिजो मंगलबार बिहान सैनिक मुख्यालयभित्र रहेको क्लवमा पुगेका शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखेको छ ।

सैनिक उच्च स्रोतका अनुसार शाहीमाथि लागेको आरोपको छानबिन प्रक्रिया अझै बाँकी रहेको र उनी बाहिर बस्दा प्रमाण नष्ट गर्न सक्ने भएकाले सैनिक हिरासतमा राखिएको हो । जन्ममिति विवादमा तानिएका उपरथी शाहीलाई २०७२ चैत २ गते बसेको सेनाको प्राड विभागले जन्ममितिमा एक रूपकता ल्याउन निर्देशन दिएको थियो तर शाहीले त्यस बेला पनि शक्तिको आडमा जन्ममिति सच्याउन आनाकानी गर्नुभएको थियो । सेनाको नेतृत्वले पटकपटक ताकेता गर्दा पनि शाहीले अटेर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले पुनर्वहालीको आदेश दिएपछि मुख्यालय पुगेका शाहीले आफूमाथि रिसइबी साँध्न सैनिक हिरासतमा राखेको भन्दै मिडियाबाजी गरेकोमा सैनिक नेतृत्वले असन्तुष्टि व्यक्त गरेको छ । यस विषयमा सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीसँग सम्पर्क गर्दा सर्वोच्च अदालतको आदेशलाई सैनिक मुख्यालयले सधैं पालना गर्दै आएको जिकिर गर्दै उहाँले उपरथी शाहीलाई नियन्त्रणमा लिनु र अदालतको आदेशबीच कुनै सम्बन्ध नरहेको बताउनुभयो ।

प्रवक्ता भण्डारीले भन्नुभयो–‘आर्थिक अनियमिततालगायतका विषयमा छानबिन गर्न उहाँलाई ब्यारेकमै बस्न निर्देशन दिइएको हो । स्वास्थ्य परीक्षणका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको र उहाँको अनुसन्धान नसकिएसम्म उहाँलाई जंगी अड्डाकै उपयुक्त ठाउँमा राखिनेछ ।’ समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);