काठमाडौं । नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सका कप्तान रहेका ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई समेत म्याच फिक्सिङको प्रस्ताव आएको बताएका छन् ।
मंगलबारको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मल्लले यस्तो बताएका हुन् । मल्लले प्रस्ताव आउनेबित्तिकै अनुशासन समितिमा रिपोर्ट गरेको समेत बताए ।
मल्लले कसले प्रस्ताव राख्यो भन्ने विषय र कुन खेलाडीलाई प्रस्ताव गरियो भन्नेबारे भने खुलाएका छैनन् ।
क्यानले आयोजना गरेको नेपाल टी–२० लिगमा आज बिहानको एक खेल ९ विकेटमा झाँरिएको थियो । खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै टस गर्न मानेका थिएनन् । केहि समयमा क्यान र खेलाडीहरुबीच सहमति भएको थियो ।
साथै, यसै लिगमा कमेन्ट्री गर्दै आएका एक कमेन्टेटरले लिगका खेलहरु ‘फिक्सिङ’ भएको आरोप लगाउँदै लिग छाँडेका छन् । यसपछि क्यान पुनः विवादमा फसेको छ ।




