वाम एकता चर्चाको सत्यता कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

वाम एकता चर्चाको सत्यता कति ?

oli-prachanda-madhav

काठमाडौं । वाम एकताको चर्चाले अहिले बजार तातेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वामपन्थीको अग्रसरतामा सरकार निर्माण भएपछि बजारमा वाम एकताको विषयले थुप्रै चर्चा पाएको छ । अहिले सरकार बाहिर रहेको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याएर वाम एकता गर्ने चर्चामा सत्यता नभएको विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले बताएका छन् ।

नेकपा एसलाई सरकारमा सहभागी गराउने विषयमा सत्तासीन दलहरू सकारात्मक भए पनि वाम एकताको विषयमा कुनै पनि कम्युनिस्ट दलहरूमा वहस नै नभएको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँले भन्नुभयो–‘नेकपा एसलाई सरकारमा ल्याउने विषयमा दलका नेताहरू सकारात्मक भए पनि वाम एकताको विषयमा अहिलेसम्म औपचारिक छलफलको कुरा त परै जाओस् अनौपचारिक रूपमा छलफलसमेत भएको छैन ।’

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुने हल्लाले अहिले बजारमा विभिन्न किसिमका टिप्पणी भइरहेको बेला एमाले नेता रिजालले एकताको विषय निराधार भएको बताउनुभयो ।एमाले नेता रिजालको जस्तै धारणा नेकपा एसका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले पनि अहिलेसम्म कुनै पनि दलसँग एकता गर्ने विषयमा छलफल नै नभएको बताउनुभयो । ‘अहिले हामी कसैसँग पनि पार्टी एकता गर्ने पक्षमा छैनौं’, उहाँले भन्नुभयो– ‘सरकारमा सहभागी हुने नहुने विषयमा त पार्टीले अहिले आधिकारिक निर्णय गरेको छैन पार्टी एकताको विषयले अहिले पार्टीका मिटिङमा प्रवेश नै पाएको छैन ।’

एमाले र नेकपा एसबीच पार्टी एकता हुने चर्चा चलेपछि एमालेका कार्यकर्ताले तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । गएको स्थानीय र संघीय निर्वाचनमा एमालेलाई हराउन दत्तचित्त भएर लागेको नेकपा एसलाई पार्टीमा ल्याए जनमतको खिल्ली उडाउने भएकाले त्यस्तो नगर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । तर, एकथरी एमालेका नेताहरूले पार्टी एकताका लागि दुवै दलका शीर्ष नेतासँग भेट गरिरहेका छन् । उनीहरूको भेटअनौपचारिक रहेको भन्दै नेताहरूले त्यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिन आनाकानी गरिरहेका छन् । ‘नेकपा एमाले सरकार निर्माणमा केन्द्रित भएकाले वाम एकताको विषयमा अहिले एमाले लाग्दैन’ –उपप्रमुख रिजालले भन्नुभयो ।

पहिलो सभामुख एमाले

पुरानो सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितका दलसँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले पहिलो प्रधानमन्त्री लिएपछि नेकपा एमालेले ५ वर्ष राष्ट्रपति र आलोपालो सभामुख लिन सहमत भएको थियो ।पहिलो सभामुख एमालेबाट चयन हुनेछ भने अढाइ वर्षपछि प्रधानमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले लिने सहमति भएको पनि नेता रिजालले बताउनुभयो ।

सरकारको कामलाई एकीकृत ढंगले अगाडि लैजान दलहरूले संयन्त्र निर्माण गरेर सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको छ । संयन्त्रको संयोजक रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा सहभागी भएका दलका प्रमुखसँगको भेटलाई तीव्र बनाउनुभएको छ ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र ओलीबीच दुई घन्टा छलफल भएको थियो । छलफलमा सरकारका न्यूनतम कार्यक्रमलाई कसरी प्रभावकारी बनाएर अगाडि बढाउने भन्ने विषयमा दुई नेताबीच छलफल भएको र सरकारको न्यूनतम कार्यक्रममा समावेश गर्ने कार्यक्रममा छलफल भएको र छलफलका बुँदाहरूलाई अन्तिम रूप दिने काम भएको थियो । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);