राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर लाग्न गृहमन्त्रीको विशेष निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजनीतिक दलको आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर लाग्न गृहमन्त्रीको विशेष निर्देशन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।

निरीक्षण भ्रमणका क्रममा लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरूः नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गरेका थिए । सो क्रममा उनले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गरेका थिए ।

संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै मन्त्री लामिछानेले भने, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’

विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उनले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);