प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिन सक्नेमा कांग्रेस नेता विश्वकर्माको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिन सक्नेमा कांग्रेस नेता विश्वकर्माको आशंका

काठमाडौं, १३ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले ३० दिनभित्र विश्वासको मत लिन सके २ वर्ष टिक्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, अब ती दल सबैलाई मिलाएर लैजानको लागि प्रचण्डजीको काँधमा जिम्मेवारी छ । उहाँले कांग्रेसलाई त मिलाउन सक्नुभएन, यी ७ दल कसरी मिलाउनुहुन्छ ? ३० दिनभित्र विश्वासको मत लिनुभयो भने यो सरकार अघि बढ्छ, ३० दिन कट्यो भने २ वर्ष सरकार ढुक्कले टिक्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले प्रधानमन्त्री दाहालले ३० दिनभित्र विश्वासको मत लिनेमा शंका व्यक्त गरेका हुन् । उनले भने,‘म अस्पतालमा सिकिस्त विरामी थिएँ । मेरी श्रीमतीले म सिकिस्त विरामी भएको बेला ज्योतिषीलाई देखाईछिन्, ती ज्योतिषले २६ गतेसम्म बाँच्यो भने केही पनि हुँदैन् भनेर भनेको रहेछ, अब यो सरकार ३० दिन बाँच्यो भने २ वर्ष केहीले पनि छुँदैन् ।’
उनले आफ्नो दलको नेतृत्वमा रहेको गठबन्धन टुट्न घण्टा भन्दापनि मिनेटपनि नलागेको टिप्पणी गरे । उनले भने,‘यो गठबन्धन यति चाँडै, मिनेटमा गठबन्धन टुट्ला भन्ने सायद नेपाली कांग्रेसका कुनैपनि नेताहरुलाई लागेको थिएन । परिणाम बदलियो, परिस्थिति बदलियो । जुन शक्ति र दलसँग अत्यन्तै खप्नै नसकिने, हुनै नसक्ने, नभन्देको भए हुन्थ्यो भन्ने आरोप र प्रत्यारोप थियो, उहाँहरुबीच विद्रोह र तिक्तता बिर्सिएर फेरि गठबन्धन बन्ला भनेर लागेको थिएन । १२ बजेर ४५ मिनेटबाट बालुवाटारबाट निस्किएका प्रचण्ड १ बजे बालकोट पुग्नुभयो ।, त्यहाँ सहमति बन्यो । यो राजनीतिक आश्चर्यजनक घट्ना घट्यो । अब हामी फेरि घुमिफिरी उही भूमरीमा पर्यौं भन्ने लागेको छ । राजनीतिक परिधिभित्र यो दुर्भाग्यपूर्ण घट्ना घट्यो ।’

उनले प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सर्याकसुरुक्क भएको सुनाए । उनले भने,‘लोकतन्त्रमा सरकार बदलिनु आश्चर्यजनक होईन । बेलायतमा पनि डेढ महिनामा दुई वटा सरकार बन्यो । सरकार अस्थायी हुन्छ, तर पद्धती स्थायी हुन्छ । पद्धती नै विश्वास नभएकाहरुको गठबन्धन भयो । यो कसरी अघि जान्छ भन्ने कुरा छ, प्रचण्ड नेतृत्वको गाडीको पाट्र्स राम्रो छ । तर, स्टार्ट नै हुँदैन कि भन्ने चिन्ता छ ।’
उनले आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले पहिलो दल हुनुको नाताले दाबी बढि राख्दैमा प्रचण्ड भड्किनुहोला भन्ने आफूहरुलाई नलागेको पनि स्मरण गराए । उनले भने,‘उहाँको पूरानो बानी सुध्रिएकै थिएन । ०७४ मा पनि त्यस्तै भयो । पुष्कमल दाहालको यो सुपर चलाखी थियो या यो पूर्व तयारी थियो । कांग्रेस नेताहरुले प्रचण्डको स्वभाव चिन्न नसक्नु गलत हो, र वार्तामा भूमिका खेल्न नसक्नुले परिस्थिति बदलियो । प्रचण्ड प्रधानमन्त्री हुनुको कारण, यही पुष ९ र १० गते हामीले केही सावधानी अपनाउन नसक्नु हो । प्रचण्डको आनीबानी र चरित्र बुझेर पनि हाम्रो भूमिका नहुनु कमजोरी हो । कांग्रेसबाट प्राप्त मतको बधाई पनि लिन नभ्याउँदै, उहाँले गठबन्धन तोडेर ऐतिहासिक भूल गर्नुभयो ।’

उनले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाएकोप्रति व्यंग्य कस्दै भने,‘जोसँग डिभोर्स भयो, उसैसँग पूनः विवाह भयो । यो राजनीतिमा आठौं आश्चर्य भयो । दोस्रो र तेस्रो दल मिलेर सरकार बनाउनु स्वभाविक हो । विभिन्न रंगीविरंगी विचार एक ठाउँमा बस्नुपर्ने बाध्यता छ, यो प्रचण्डजीको कारण भयो । ओलीजीको भूमिका त किप्परको भूमिका हो । उहाँ केपी ओलीमा यो विकसित घट्नामा आग्रह, पूर्वाग्रह वा चलाखी म देख्दिनँ । यो त प्रचण्डजीको हुटहुटीले भएको हो । प्रचण्डकै सत्तामोह र महत्वकांक्षाको हुटहुटीले यस्तो भयो । प्रचण्डको पक्षमा समर्थनको सिट संख्या १६९ पुगेको छ । विभिन्न ७ दल छन् । राप्रपाले पनि शर्त राखेको छ। उसले शर्त पूरा भए सरकारमा जाने भनेको छ। रास्वपाले सहभागिता जनाएको छ । उसको प्रदेशप्रति असन्तुष्टि छ । यो भनेको संघीयताप्रति विश्वास छैन भनेको हो । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन् ।’

उनले पार्टी सभापति देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा उठेको विषयमा सञ्जालले भनेर संगठनका मान्छेले राजीनामा गर्ने हो ?भन्दै कडा प्रश्न गरे । उनले भने,‘एकथरी मान्छे सञ्जालबाटै सरकार बन्छ भन्नेमा विश्वास गर्नुहुन्छ । पदाधिकारी साथीहरुले संगठनभित्र राख्नुभयो भने छलफलको विषय बन्छ । हाम्रो पार्टी सामूहिक नेतृत्वबाट चल्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);