भैरहवा, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको जीवन युवायुवतीको समृद्धि र उन्नतिमा बिताउने संकल्प गरेका छन् ।
भैरहवामा आयोजित नेपाल जेसिजको ४४ औं महाधिवेशनमा भावुक मुद्रामा देखिएका अध्यक्ष प्रचण्डले छोरा प्रकाशको सम्झना गर्दै अब प्रत्येक घरमा प्रकाश छर्ने बताए ।
नेपालका सम्पूर्ण युवायुवती आफ्नै छोराछोरीसरह रहेको भन्दै उनले अबको १० वर्षभित्र रोजगारीका लागि कसैले पनि बिदेसिनुपर्ने अवस्था नआउने प्रचण्डले जिकिर गरे ।
संयम र धैर्यसाथ राष्ट्रलाई एकताबद्ध गरी अघि बढे छोटो समयमै आर्थिक समृद्धि हासिल हुने अध्यक्ष दाहालको भनाइ छ । पुस ८, ९ र १० गते भैरहवाको महेन्द्रसभा गृहमा हुने जेसिसको महाधिवेशनमा भाग लिन देशभरबाट २५ सय प्रतिनिधि पर्यवेक्षक भैरहवामा भेला भएका छन् ।




