काठमाडौं, ८ पुष । एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न सरकार तयारीमा जुटेको छ ।
प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्बजनिक गरेपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न लागेको हो । निर्वाचन आयोगले शुक्रबार प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले पाएको मतपरिणाम सार्बजनिक गरिसकेको छ ।
दलहरुले नाम पठाएपछि आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेशसभालाई बुझाउनुपर्ने व्यवस्था छ । यसैले पनि सरकारलाई एक हप्ताभित्र प्रदेश राजधानी र प्रमुख टुंगो लगाउनुपर्ने दबाब बढेको हो ।
कुन प्रदेशको अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे तयारीमा सरकार अन्तिम चरणमा रहेको छ ।




