सन्दीप शर्मा/ काठमाडौं । चाल्र्स शोभराजलाई अध्यागमनबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पठाइएको छ । उनलाई आजै फ्रान्स पठाउने तयारी अध्यागमनको छ ।
शोभराजका तर्फबाट कानून व्यवसायी गोपाल चिन्तनले साँझ ६ बजे कतार एयरवेजबाट दोहाका लागि उड्ने र त्यहाँबाट फ्रान्सका लागि जाने जानकारी दिएका हुन् । शोभराजको ट्राभल डकुमेन्ट पनि तयार भइसकेको बताए ।
अध्यागमन विभागमा सबै प्रक्रिया पूरा गर्न शोभराजलाई लगिएको हो । त्यहाँबाट उनलाई सिधै त्रिभुवन विमानस्थल लगिएको छ ।
हत्याका दोषी भएकाले १९ वर्ष नेपालको जेलमा राखिएका शोभराज आजै कारागारमुक्त भएका थिए । उनलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।
शोभराजमाथि नेपाललगायत विभिन्न देशमा हत्या, डकैती, ठगीलगायत विभिन्न अभियोग छन् । उनी पटक पटक विभिन्न देशको जेलमा समेत परे । कतिपय जेलबाट फरार भएका थिए । ७८ वर्षीय शोभराजको स्वास्थ्यमा समस्या रहेको बताइएको छ ।