फायर म्यान सञ्जीव नेपालको कीर्तिपुर स्थित बर्न सेन्टरमा उपचारका क्रममा मृत्यु
काठमाडौं, ७ पुस । वीरगन्जको सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइते मध्ये एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । यसअघि दुइ जनाको वीरगन्जमै मृत्यु भएको थियो ।
वीरगन्ज महानगरपालिकाको भवानीपुरस्थित सुपर ग्यास उद्योगमा बुधबार भएको आगलागीमा घाइते भएका वीरगन्ज महानगरपालिकाको वारुण यन्त्र शाखाका फायर म्यान सञ्जीव नेपालको कीर्तिपुर स्थित बर्न सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
जलेर गम्भीर घाइते भएका नेपाल र वारुण यन्त्रका चालक अरुणकुमार महतोलाई वीरगन्जमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । महतोको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आगलागीमा परी घाइते भएका सुपर ग्यास उद्योगका अपरेटर अम्बिका पटेलको भने वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहको छ ।
बुधबार सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी वीरगन्ज महानगरपालिकाको वारुण यन्त्र शाखाका अग्नि नियन्त्रक सर्लाही लालबन्दी घर भएका यादवप्रसाद अधिकारी र तनहुँको डुम्रे घर भएका मधुसुदन मिश्रको घटनास्थलमा मृत्यु भएको थियो ।




