निवर्तमान कुलपति उप्रेतीको ‘स्मृति–बिम्ब’ बजारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

निवर्तमान कुलपति उप्रेतीको ‘स्मृति–बिम्ब’ बजारमा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित संस्मरणात्मक निबन्धहरूको नवीनतम कृति ‘स्मृति–बिम्ब’ बजारमा आएको छ । ‘स्मृति–बिम्ब’ व्यक्तिकेन्द्रित संस्मरणहरूको सङ्ग्रह हो । जीवनमा भेटेका, सहकार्य गरेका र उनीहरूका सत्कर्मबाट प्रभावित भएका विभिन्न १६ जना व्यक्तिहरूलाई विषय बनाएर लेखिएका संस्मरणात्मक निबन्धहरूको सङ्ग्रह ‘स्मृति–बिम्ब’लाई शमी साहित्य प्रतिष्ठान, काठमाडौँले प्रकाशन गरेको हो ।

‘स्मृति–बिम्ब’भित्र मेरा बा, मेरी आमा, वरिष्ठ भाषाशास्त्री प्राज्ञ बालकृष्ण पोखरेलको सम्झनामा, बैरागी काइँलासँग भएका सहकार्यबाट प्राप्त अनुभव, वरिष्ठ बामपन्थी बुद्धिजीवी गोविन्दप्रसाद लोहनीको सम्झनामा, स्मृतिमा कोशु दाइ अर्थात् केशवप्रसाद कोइराला, अनुवादमार्फत नेपाललाई विश्वसँग जोड्ने स्रष्टा कृष्णप्रकाश श्रेष्ठ, सबैको अविभावक हुन सक्ने क्षमता भएका मोहनकृष्ण खरेल, दृढ अडान भएका वामबुद्धिजीवी डा. राममान श्रेष्ठ शीर्षकका संस्मरणहरू समाविष्ट छन् ।

यसै गरी सङ्ग्रहभित्र मूर्तिकलाको व्यासासनबाट मोक्षका भजन गाउने स्रष्टा ठाकुरप्रसाद मैनाली, प्रतिबद्ध वामपन्थी बद्धिजीवी ः महेश्वरमान श्रेष्ठ, राममणि आ.दी.का सच्चा उत्तराधिकारी केशवमणि आ.दी., आफ्नै बुताले उठेका केवली तथा जमुना सेडाईं, विद्रोही अभियन्ता तथा साधनारत स्रष्टा नारायणप्रसाद सङ्ग्रौला, झापाका छन्दकवि रोहिणीविलास लुइँटेल, कोभिड–१९ले खोसेर लगेका मेरा साथी मोतीबहादुर इङ्नाम र स्मृतिमा सधैँ रहने विष्णुराज आत्रेय रहेका छन् । सबै निबन्धहरू २०७८–२०७९ भित्र लेखिएका हुन् ।

‘स्मृति–बिम्ब’ उप्रेतीको पन्ध्रौँ प्रकाशित कृति हो । यसअघि उनका स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४), दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६), व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७), बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, इ. २००८), तिब्बतमा दस दिन (नियात्रा, २०६४), नामको खोल (निबन्ध, २०६४), भाषा र संस्कृति (लेखसङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी पूmलहरू (संस्मरण, २०६९), समालोचना विविध (समालोचनासङ्ग्रह, २०७१), चक्रव्यूह (कवितासङ्ग्रह, २०७३), घुम्दै फिर्दै अमेरिकामा (नियात्रा, २०७७), स्मृतिमा तरङ्गित बिम्बहरू (संस्मरण, २०७७), स्मृति–बिम्ब (संस्मरणसङ्ग्रह, २०७९) प्रकाशित छन् ।

उनले उत्साह (त्रैमासिक, सहसम्पादन, २०४२), प्रतिबिम्ब (मुखपत्र, २०२२), कुम्भकर्ण (वार्षिक, २०२५), छिन्नमस्ता (२०३५), संस्कृति (त्रैमासिक, २०५१), शृङ्खला (त्रैमासिक, सहसम्पादन, २०४५), आजको तिब्बत (त्रैमासिक), तिब्बतको बदलिँदो अनुहार (लेखसङ्ग्रह), प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), बृहत् नेपाली शब्दकोश (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), जर्नल अफ नेपलिज स्टडिज, इतिहासशिरोमणि बाबुराम आचार्य (पुस्तक), समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह (पुस्तक), फक्ताङलुङ (लिम्बू भाषाको पत्रिका), महुवा (भोजपुरी भाषाको पत्रिका, नेपाल प्रज्ञा–प्रतिष्ठान), नेपाली सन्दर्भ व्याकरण (नेपाल प्रज्ञा–प्रतिष्ठान, सम्पादन, संयोजक), विभिन्न स्मृतिग्रन्थ आदिको सम्पादन गरेका छन्

यसै गरी अनुवादतर्फ द भ्वाइस अफ नेपाल (पुस्तक), वङ्गबन्धु शेखमुजिबुर रहमानका अपूरा संस्मरणहरू (नेपालीमा अनुवाद सम्पादन, २०७५), पाकिस्तानी महिला लेखन (अनुवाद नेपालीमा, पुस्तक, २०७३), बङ्गबन्धुको जेल डायरी (नेपालीमा अनुवाद), नेपाली कविताहरूको सङ्ग्रहको भ्वाइस अफ नेपाल नाममा अङ्गे्रजीमा अनुवाद गरेका छन् । नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति उल्लेखनीय योगदान गरेबापत उप्रेती दीर्घ शिक्षा सेवा पदक (२०५९), शिक्षा पदक (२०५३), सुप्रबल जनसेवाश्री तृतीय (२०७६), सुकीर्तिमय राष्ट्रदीप (२०७९) आदि पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);