काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ चलाल गणेशस्थान नजिकै मंगलबार भएको बस दुर्घटनापछि गाउँ नै शोकमा डुबेको छ ।
दुर्घटनामा १७ जनाले ज्यान गुमाएपछि काभ्रे शोकमा छ । माउण्टेन टेलिभिजनको टिम घटनापछिको अवस्था बुझ्न बुधबार धुलिखेल अस्पतालमा पुगेको थियो ।
हाम्रो टीम त्यहाँ पुग्दा घाइतेहरुको उपाचार भइरहेको थियो । मृतकको शव पहिचान गरि परिवारलाई बुझाउने काम पनि चलिरहेको थियो । दुर्घटनामा बनेपा–११ सल्ले गाउँका एकै परिवारका ८ जनाले ज्यान गुमाए । अस्पताल पछि हामी सल्ले गाउँको त्यस घरमा पुगेका थियौं । जुन घरका आठै जनाले ज्यान गुमाए ।
मन्जु तामाङ, पुस्कर तामाङ, बुद्ध तामाङ, कोपीला तामाङ, निर्मला तामाङ, हेमा तामाङ, कुमार तामाङ, आकुर तामाङ एकै परिवारका हुन् । यस परिवारका दुई सदस्य विदेशमा छन् । दुर्घटनामा परेको यो परिवारका एक जना पनि घाइते अवस्थामा अस्पतालको बेडमा बाँच्नका लागि संघर्ष गरिरहेका छन् ।
हामी त्यहाँ पुग्दासम्म त्यस घरको ढोका बन्द थियो । सडक छेउँमै टोलाएर बसेका एक स्थानीयले भने– अब कसले खोल्ने ढोका ?




