बनाउला त एमालेले सरकार ? (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बनाउला त एमालेले सरकार ? (भिडियो रिपोर्ट)

बिन्दू अधिकारी माउन्टेन टेलिभिजन एचडि। सत्ता गठबन्धनले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेपछि संसदमा दोस्रो ठूलो दल बनेको नेकपा एमालेले के गर्ला भन्ने चासो बढेको छ।अहिलेको सत्ता गठबन्धनमा पावर शेयरिङमा कुरा मिल्न नसके राजनीतिक समीकरण फरक ढंगले अघि बढ्ने संभावना पनि छ।

निर्वाचनको परिणामको लगभग प्रष्ट खाका आइसकेपछि सत्तारुढ गठबन्धनले आफ्नै नेतृत्वमा सरकार बनाउने बताएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरेपछि राजनीति तरंगित भएको थियो । तर पछि माओवादीले त्यसलाई सच्याउँदै सत्ता गठबन्धनको विकल्पमा नरहेको प्रष्टीकरण दियो । सीके राउतको जनमत पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने जनाएपछि उसलाई बहुमत पुग्ने देखिन्छ। सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पावर शेयरिङ प्याकेजमै हुनुपर्ने बताएको छ। यसको अर्थ उनीहरु काँग्रेससँग ठूलै भाग फुत्काउने दाउमा छन् ।

राष्ट्रपति देखि समामुख अनि सातै प्रदेशका मुख्य मन्त्रीहरुको भागवण्डा टुंग्याउन त्यति सजिलो छैन । यस्तो अवस्थामा अहिलेको गठबन्धन कायम नरहन सक्छ। त्यो बेला स्वभाविक रुपमा एमाले बलियो दावेदार हुनेछ।अहिले पनि माओवादी र एमालेका दोस्रो तहका नेताहरु कुनै न कुनै रुपमा संवादमा छन् । ४४ सिट प्रत्यक्ष र ३३ सिट समानुपातिकमा आउने संभावना रहेकाले एमाले एक्लैको ७७ जना सांसद हुनेछन् । यसमा माओवादी राप्रपा, राष्ट्रि स्वतन्त्र पार्टी लगायतका अन्य साना दललाई मिलाउन सके एमालेकै नेतृत्वमा सरकार गठन हुने संभावना पनि नकार्न सकिँदैन । तर सत्ता गठबन्धनले बहुमतको सरकार बनाएर स्थिरता कायम राख्ने दावी गरेमा एमालेले आफु प्रतिपक्षमै रहेर भुमिका निर्वाह गर्ने बताएको छ।

संसदमा धेरै दल भएको अवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउनु त्यति व्यवहारिक र संभव त देखिँदैन तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई टालाटुली सरकार बनाउनुभन्दा दुई दल मिलेर सरकार गठनका लागि प्रस्ताव पठाएको चर्चा पनि राजनीतिक बृत्तमा भइरहेको छ । कतिपय राजनीतिक विश्लेषक राजनीतिक स्थिरताका लागि दुई दल मिल्नु नै उत्तम हुने टिप्पणी गर्दछन् ।

राजनीति संभावनाको खेल हो । निर्वाचनको मत परिणाम मिश्रित आएकाले राजनीतिक समीकरण जुनुसुकै प्रकारले अघि बढ्ने संभावनालाई नकार्न सकिँदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);