प्रचण्डलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर, दुवै पद एमालेलाई नछाड्न दवाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ४ पुस । नेकपा एमालेसँग एकताको प्रक्रियामा रहेको नेकपा माओवादी केन्द्रभित्र प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद लिनुपर्ने माग उठेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा नयाँ सरकार गठन अगावै पार्टी एकता गर्नुपर्ने तर प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद भने कुनै हालतमा छोड्न नहुने आवाज उठेको हो । बैठकमा धारणा राखेका अधिकांश नेताहरुले गठबन्धन बनाएर निर्वाचनमा होमिएका कारण दुवै दलले राम्रो नतिजा ल्याएकाले एमालेलाई अध्यक्ष र प्रधानमन्त्रीको पद सुम्पिन नसकिने बताएका छन् ।

खासगरी एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति सार्वजनिक गरेपछि सशंकित भएका माओवादी केन्द्रका नेताहरुले दुईमध्ये एउटा पद चाहिने अडान एमालेसामु दह्रोसँग राख्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् । उनीहरुले ठूलो दलका नाताले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सम्भावना रहेकाले पार्टीले अध्यक्षको दाबी गर्नुपर्ने बताएका छन् । बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले अब एकता प्रक्रिया अगाडि बढाइने बताए ।
नेताहरुले नयाँ सरकार गठन अगावै पार्टी एकताको खाका तयार पार्नुपर्नेमा पनि जोड दिएका छन् । एमाले र माओवादी केन्द्रबीच गठबन्धन निर्माणका बेला निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।

नेताहरुले धारणा राख्नुपहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि एकताको प्रक्रियालाई प्राथमिकता दिएर एमालेसँग छलफल गर्ने बताए । उनले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनाउने प्रस्ताव आएको तर आफूले अस्वीकार गरेको बताएका थिए । दाहालले केही दिन पहिले मात्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यो भेटवार्तामा आफूले राष्ट्रियसभा गठन सम्बन्धी विवाद राजनीतिक सहमतिका आधारमा टुंग्याउन सुझाव दिएको दाहालले बताए । माओवादी केन्द्रको बैठकले पनि प्रमुख तीन दलले आपसमा छलफल गरेर राष्ट्रियसभा गठन सम्बन्धी विधेयकमा सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);