मधेशमा नयाँ शक्तिको उदयहुँदा पुराना शक्ति ओझेलमा परे। | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मधेशमा नयाँ शक्तिको उदयहुँदा पुराना शक्ति ओझेलमा परे।

प्रतिमा धरेल,माउण्टेन टेलिभिजन। निर्वाचनको मत परिणामले पुराना राजनीतिक शक्तिसँगै क्षेत्रीय दललाई पनि धक्का दियो। मधेशमा झण्डै दुई दशकदेखि रजगज गरिरहेका नेताहरुले निर्वाचनमा चुनौति ब्यहोर्न परेको छ। मधेशमा नयाँ शक्तिको उदयहुँदा पुराना शक्ति ओझेलमा परे । यसको ठूलो झट्का लाग्यो उपेन्द्र यादवलाई । लामो इतिहास बोकेका दलहरुलाई जनताले राम्रै सवक दिएर नयाँ अनुहार या भनौ नयाँ दललाई पनि स्थान दिएका छन् । जसबाट मधेसवादी दल जसपा पनि अछुतो रहेन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ठूला राजनीतिक दलका उम्मेदवारलाई हार चखाउँदै सुनसरी – ५ र मोरङ–५बाट विजयी हुनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीतिक यात्रामा अहिलेको हारले ठूलो धक्का पुगेको छ । २०७४मा सप्तरी–२ बाटै उम्मेदवारी दिएर संसद छिर्नुभएका यादव यो निर्वाचनमा सोही क्षेत्रबाट नमिठो हार वेहोर्न वाध्य हुनुभयो ।

उहाँ जनमत पार्टीका उम्मेदवार सीके राउतसँग भारी मतान्तरले पराजित हुनुभयो । कुनै बेला जनताका लागि मधेसको मुद्दा सम्बोधन गर्ने आशाको किरण बन्नुभएका अध्यक्ष यादवलाई यसपाली जनताले पत्यायनन् । १६ वर्ष अघि जय मधेसको नारा लिँदै मधेस आन्दोलनलाई नेतृत्व गर्दै आउनुभएका उहाँको मधेसमा रामै्र दबदबा थियो । तर टुटफुट अनि एकता फेरी फुटको श्रृंखलाबाट जसरी मधेशवादी दलहरु गुज्रिए त्यसले मधेशका जनताको पुराना शक्तिसँग विश्वास नराम्ररी घटेको परिणामले देखाएको छ। एजेन्डा एकातिर र सत्ताका लागि विल्कुलै फरक शक्तिसँग समीकरण गर्न पछि नहट्ने प्रवृत्तिले उनीहरुलाई राजनीतिक क्षति पुगेको देखिन्छ। तर जसपाका नेताहरु यसलाई मान्न तयार छैनन् ।

यसपाली सीके राउतले भने मधेसको मन जित्न सफल बन्नुभयो । कुनै बेला राष्ट्र विखण्डनको नारा दिएर मधेशमा स्थापित हुने कोसिश गर्नुभएका राउतले यसपाली किसानको मुद्दालाई हतियार बनाए र जनता लोभिए पनि । राम्रो मत ल्याएर विजयी हुनुभएका राउतको वास्तविक परीक्षा अव सुरु हुने विश्लेषकहरु बताउँछन् ।

मतदाताको चेतनामा बृद्धि भएको बेला समयको पदचापलाई नपछ्याउने हो भने नयाँ हौं भन्ने दललाई पनि राजनीतिमा टिक्न मुस्किल हुने प्रष्ट छ। किन भने अहिले पुरान भनिएका दल पनि कुनै समय यसरी नै नयाँ थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);