नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द   | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द  

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् । फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताए ।  गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका वावजुद दोर्पाचिउरीडाँडामा चौहानसहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । नगरपालिकामा गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा बिजयी भए । मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमीका निर्वाह गर्नुपर्नेमा दलगत र समुहगत रुपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र संघीयता बिरोधी कार्य भएको चौहानले बताए । मेयर र उपमेयरले लिखितरुपमा वडामा हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडाबासीलाई असर  पार्नेगरी हस्तक्षेप गरेर कानूनी राज्यको खिल्ली उडाइएको छ,’ वडाध्यक्ष चौहानले भने, ‘नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन । वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।’ फरक अस्था र विचार राख्ने करारका कर्मचारीलाई विना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको चौहानले बताए । वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्धा हाल्न लगाएर अवरोध गरेको आरोप लगाएका छन् ।

यस्तै, चुच्चेढुंगा दोवेला सिँचाई योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाइएको बताए । वडामा भइरहेका विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनावद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानले दावी गरे ।  स्टीमेटअनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत वस्ती विस्तार योजना अलपत्र परेको लगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ । दलीय स्वार्थले द्धन्द्ध सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);