काठमाडौँ, २० मंसिर । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको मत परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ। परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ।
दोस्रो चरणको मतदान सकिएलगतै मतपेटिका संकलन गरी सोही दिन साँझदेखि गणना सुरु गरिने आयोगको तयारी छ । आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ।
उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
यस्तो छ गणना व्यवस्थापन
– प्रतिनिधिसभा प्रत्यक्ष, प्रदेशसभाका दुई वटा र समानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग गरी चार वटा मतगणनास्थल हुनेछन् ।
-एकै समयमा सबै तर्फको गणना गर्न नसकिए प्रत्यक्ष प्रणालीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको गणना एकै पटक गरिनेछ ।
-प्रत्यक्षको गणना सकिएपछि समानुपातिक तर्फको गणना गर्ने आयोगको तयारी छ ।
-मतगणना कार्यमा शिक्षक बाहेकका कर्मचारी परिचालन हुनेछन् ।
-अनुगमनमा खटिएका तालिमप्राप्त कर्मचारीलाई गणनाका लागि परिचालन गरिनेछ।
-आयोगले निर्वाचन प्रयोजनका लागि २ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ।