काठमाडौं। दार्चुला र सुनसरीमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार से.१ ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङ कफलसेरी गाउँपालिका–६ बस्ने ५५ वर्षीया चन्का देवी बोहरा सहित छन् । मृत्यु हुनेहरूमा ४ जना पुरुष र एक जना महिला रहेका छन् । दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सुनसरीको धरान उपमहानगरपालिका–८ कोशीस्थित सडकमा को.२ च १६६७ नम्बरको पिकअप र प्रदेश–१–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय सुरज दाहाल छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी, दुहबी नगरपालिका–२ स्थित सडकमा स.४ प ११८९ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने मोटरसाइकल चालकको हाल पहिचान खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी जिवन ज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।