कपिलवस्तु, १६ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टको सरकार आए मुलुकमा अधिनायकवाद आउँछ भन्नु काँग्रेसको पराजित मानसिकताको उपज भएको टिप्पणी गरेका छन् ।
मुलुकभर वाम गठबन्धनको लहर देखेर नेपाली काँग्रेस अत्तालिएको प्रचण्डले आरोप लगाए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सबैजसो चुनावी सभालाई सम्बोधन गर्दा देशमा कम्युनिष्टको सरकार बनेमा अधिनायकवाद आउँछ भन्ने गरेका छन् । त्यसैको प्रति उत्तर स्वरुप प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
मायादेवी गाउँपालिकाको पकडीमा आज वाम गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताएका छन् ।
मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गरे।
काँग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न उनले सुझाव दिए । अब मुलुकमा दुई वटा पार्टी मात्रै निर्माण हुनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष प्रचण्डले सम्बोधन टुँग्याए लगत्तै ठूलो आवाजका साथ आज यहाँ बम विस्फोट भएको थियो । प्रचण्डले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विष्फोटको आवाजसँगै सर्वसाधारणको भागाभाग भएको थियो ।