सेनाले गस्ती बढायो: विमानस्थलमा पनि सेना | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, १५ मंसिर ।  उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सुनसरीमा सेनाले गस्ती बढाएको छ। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा अब सेनाले निगरानी बढाएको हो। सुनसरीका चारै निर्वाचन क्षेत्रका एक सय ६६ मतदानस्थल र पाँच सय २७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी बिहीबारदेखि सेना सक्रिय भएको प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिए।

निर्वाचन सुरक्षामा सेनाले गस्ती बढाएसँगै धरान, इटहरी, दुहबी, इनरुवा, हरिनगरा, कप्तानगन्ज, देवानगन्ज, बर्जु, महेन्द्रनगरलगायत स्थानमा सेनाको अस्थायी गुल्म स्थापना गरिएको छ। प्रजिअ पराजुलीका अनुसार अस्थायी गुल्मबाट सेनाले चौबिसै घन्टा मतदान केन्द्र, मतदाता र उम्मेदवारको सुरक्षा निगरानी बढाउनेछ।

सेनाले मुख्य ठाउँहरू, धरान, पानमारा, इटहरी, झुम्का, महेन्द्रनगर, प्रकाशपुर, इनरुवा, दुहबी, खनार बजारमा गस्ती बढाएको छ। सेनाले भारतसँगको सीमावर्ती भन्टाबारी, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लौकही नाकालगायत आसपासका क्षेत्रमा पनि निगरानी बढाएको छ। बम विस्फोटका घटना बढेपछि सुरक्षा व्यवस्था मजबुत बनाउन चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनले सुनाए।

विमानस्थलमा पनि सेना

निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रुु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्। विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जिल्लास्तरीय सुरक्षा बैठक बसी विशिष्ट व्यक्तिसमेत आउजाउ गर्ने स्थानमा सुरक्षा निगरानी बढाएको जानकारी दिए।

प्रहरीको जनशक्ति निर्वाचनमा पनि खट्नुपर्ने हुँदा सेनालाई थप सुरक्षा हेर्ने गरी जिम्मेवारी दिइएको उनको भनाइ छ।‘विमानस्थलका प्रहरी निर्वाचनका लागि बाहिरिएपछि सेनालाई मुख्य कमान्ड सम्हाल्ने जिम्मा दिइएको हो’, उनले भने। सेनाले बाहिरी मुख्य सुरक्षा कमान्ड सम्हालेको छ भने प्रहरीले सेनालाई सघाएको छ। विमानस्थल प्रशासनले अब केही दिन विमानस्थलको मुख्य सुरक्षा नेतृत्व सेनाले लिने जनाएको छ। – अन्नपूूर्ण पोस्ट दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);