हिमाली मतदाताका हैरानी, सिङ्गो गाउँमा १६ भोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ६ मंसिर । सदरमुकाम फुङलिङबाट लगातार हिँड्दा तीन दिनमा पुगिने ओलाङचुङगोलाको याङमा केन्द्रमा मतदाताभन्दा मतदान गराउनेको संख्या बढी हुन्छ । मतदाता सूचीमा ५७ जनाको नाम छ तर यस केन्द्रमा बढीमा १६ मत खस्ने स्थानीय बताउँछन् । ओलाङचुङगोला घर भएका फक्तालुङ गाउँपालिकाका सूचना अधिकारी (वडा सदस्य) छेतेन वालुङका अनुसार त्यति मत खस्न पनि गोठमा बसेकाहरू सबै बस्तीमा आएर मतदान गर्नुपर्छ । अरू सबै सहरतिर छन् जो चुनावमा गाउँ फर्कंदैनन् ।

गोठ छाडे जंगली जनावर (हिउँचितुवा, ब्वाँसो) ले गाईबस्तु खाइदिने डर छ उनीहरूलाई । ‘चिसो बढ्न थालेपछि गोठ तलतल झार्न थालेकाले मतदानमा सबै सहभागी होलान् कि भन्ने अपेक्षासम्म गरिएको छ,’ उनले भने । यो केन्द्रमा मतदान गराउन ७ कर्मचारी खटिएका छन् । सुरक्षाकर्मीको संख्या मतदाताको भन्दा बढी छ । भौगोलिक विकटता र सुरक्षा चुनौती भएकाले संख्या भने सार्वजनिक गरिएको छैन।

ओलाङचुङगोलाबाट एक दिनभरि हिँडेर पुगिने र पूरै जंगल क्षेत्र भएकाले यसलाई संवेदनशील सूचीमा राखिएको हो । यहाँको मतपेटिका भने हेलिकप्टरबाट ओसारिन्छ । गएको स्थानीय तहको निर्वाचनमा मौसम खराबीका कारण हेलिकप्टर बस्न नसक्दा मतपेटिका पैदलै बोकेर तीन दिनमा गाउँपालिकाको केन्द्रसम्म ल्याइएको थियो। स्थानीय निर्वाचनमा यो गाउँमा २६ भोट खसेको थियो । ‘गाउँमा त १७ जना मात्रै थिए। म र मेरा प्रतिस्पर्धीले बोलाएर ९ भोट बढाएका हौं,’ वडाध्यक्ष निर्वाचित वालुङले भने, ‘आगामी निर्वाचनमा उनीहरू आउँदैनन् ।’ स्थानीय निर्वाचनमा एकै परिवारका उम्मेदवार भएकाले मात्र उनीहरू आएको सुनाए।

छोतेनका अनुसार सदरमुकाम फुङलिङ र काठमाडौंमा रहेकालाई सम्पर्क गर्दा उनीहरूले आफू बिरामी रहेको, हिँड्न नसक्नेजस्ता समस्या सुनाइरहेका छन् । फुङलिङमा रहेकाले पनि फर्कने योजना बनाएका छैनन् । उनी आगामी निर्वाचनमा मतदान गर्नेको नामै सुनाउँछन् । उनका अनुसार लोप्साङ नाम गरेका दुई जना, पेमा, सोनाम टाँसी, फुछिरिङ, सोनाम, ठिङजो, पासाङफुटी, टँसी, कादेग्यावु, ताम्लिङ ग्यावु, ल्हमु, फुटिक, याङगी, सुङजुक र छेतेनले मतदान गर्नेछन्।

नेताहरू पनि भोट माग्न यो गाउँ पुग्दैनन् । यहाँ ११ घरको बसोबास छ । गाउँमा रहेकामा पनि गोठ भएका ९ परिवारका एकरएक जना घरमा बसेर बाँकी गोठमै हुन्छन् । उमेर पुगेका तर नामावलीमा नाम नभएकाहरूको संख्या पनि यत्ति नै रहेको छेतेन बताउँछन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली संकलन भएको थियो । तर लामो बाटो हिँड्नुपर्ने भन्दै धेरैले नामै लेखाएनन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरक्षाकर्मीबाहेक यहाँ जाने कर्मचारीका लागि डेढ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृत, नायब सुब्बा वा खरिदार तहका दुई कर्मचारी र एक सहयोगी पठाइनेछ । दुई जना स्थानीय सहयोगी हुन्छन्। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);