स्थानीय निर्वाचन भन्दा १० प्रतिशत कम मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमडौँ, ११ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ। केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो। प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ।

प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । बाँकी ४५ जिल्लाबाट २५६ प्रदेश सभा सदस्य र १२८ प्रतिनिधिसभाका सांसद निर्वाचित हुनेछन् । यी निर्वाचनसँगै नेपालको राजनीतिक संक्रमण पनि अन्त्य हुनेछ।

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६५ प्रतिशत मत खसेको छ । ४४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन्।

सोलुको तिङ्लामा फेरि शून्य मतदान
सोलुखुम्बुका तिङ्लाका स्थानीयले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन्। स्थानीय निर्वाचनमा जस्तै यो वडाबाट एक मत पनि परेन । स्थानीय तह पुनर्संरचनामा आफूहरूमाथि अन्याय भएको भन्दै करिब पाँच हजार जनसंख्या भएको यो गाउँ आन्दोलित छ ।

सोलुको नेचासल्यान गाउँपालिका-६ बनेको यो गाउँ पहिले सिंगै गाविस थियो । स्थानीय तह पुनर्र्संरचनाका क्रममा कांग्रेसबाहेकका दलले तिङ्लालाई सदरमुकाम रहेको सोलु-दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, त्यसैअनुसार सिफारिस भएको थियो, तर कांग्रेसले त्यसमा सहमति जनाएन।

स्थानीय तह पुनर्संरचना आयोगले पनि कांग्रेसको मागअनुसार नेचासल्यानतिरै राख्यो। त्यसपछि असन्तुष्ट बनेका स्थानीयले ३१ वैशाखको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए। तिङ्ला गाउँबाट सदरमुकाम झन्डै आधा घन्टाको दूरीमा छ। तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ-दुई घन्टाको दूरीमा छ। त्यसैले यो मागमा गाउँवासी सबै एक छन्। माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय स्थानीयले गरेका हुन्।

दुई मतदान केन्द्रमा मतदान स्थगित
पश्चिम रुकुमका दुईवटा केन्द्रमा मतदान स्थगित भएको छ। बाँफिकोट गाउँपालिका-५ काँडाको रत्न आधारभूत विद्यालय मतदानस्थलको (क) मतदान केन्द्र र आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलको (ख) मतदान केन्द्रमा मतदान स्थगित भएको हो।

मतपत्रमा एसिड हाल्दा मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि ती दुई मतदान केन्द्रमा मतदान स्थगित भएको बताइएको छ। एसिड खसालिएका मतपेटिका नखोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हुम्लाको मेखालामा ६ मत खस्यो
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको रारा आधारभूत मेखाला मतदान केन्द्रमा ६ मत खसेको छ। हुम्ला चंखेली गाउँपालिका–३ मेखालामा आइतबार अपराह्न ४ बजेपछि ६ जनाले मतदान गरेका हुन्।

गाउँकै रारा प्राविमा मतदान केन्द्र राखिए पनि ४ बजेपछि मात्रै ६ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । स्थानीय तहको पुनर्संरचनाको विषयलाई लिएर असन्तुष्ट भएकाले स्थानीय मतदान गर्न नआएको उनले बताए । सो मतदान केन्द्रमा ११९ मतदाता छन्।

बैतडीमा ११४ वर्षीया वृद्धाले गरिन् मतदान
बैतडी सुर्नया गाउँपालिकाकी ११४ वर्षीया पशुपति साउदले मतदान गरेकी छिन्। उनी जिल्लाकै ज्येष्ठ मतदाता हुन्। सुर्नया गाउँपालिका–८, काठमाणाकी साउदले आइतबार दिउँसो ढोल्या मतदान केन्द्रबाट मत हालेकी हुन्। हिँड्न नसक्ने उनलाई कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर ल्याएका थिए। छोराको सहयोगमा उनले मतपेटिकामा मत खसालिन् । एक वर्षभित्रै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मत हाल्न पाउँदा उनी निकै नै खुसी देखिइन्। – नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);