सुरक्षा चुनौती बढ्दै, गस्तीको जिम्मेवारी सेनालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

काठमाडौँ, ६ मंसिर । सुरक्षा चुनौती बढ्दै गएपछि आगामी निर्वाचन सुरक्षाको जिम्मेवारी सेनालाई दिने तयारी सुरु भएको छ। निर्वाचनको तेस्रो घेरामा रहने सेनालाई सुरक्षा संयन्त्रको नेतृत्व दिने तयारी सुरु गरिएको छ। स्थानीय निर्वाचनको तुलनामा यतिबेला हिंसात्मक घटनामा वृद्धि भएपछि सुरक्षा योजनामा केही फेरबदलसमेत गर्न लागिएको छ। नेपाली सेनालाई थप सक्रिय बनाउने तयारी छ। फेरबदल हुने संयन्त्रमा संयुक्त गस्तीको सेनाले नेतृत्व गर्ने भएको छ।

स्थानीय तह निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना खटिएका थिए। तीनवटै सुरक्षा निकायबीच समन्वय रहे पनि गस्ती भने अलग-अलग नै थियो। निर्वाचन आयोगले समेत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर सेनाको नेतृत्वमा संयुक्त गस्ती परिचालन हुने जानकारी दिएको छ।

सुरक्षा निकायबीच सूचना संकलन तथा आदानप्रदान, सहकार्य र समन्वय प्रभावकारी ढंगले गर्न आवश्यक रहेको निष्कर्ष समेत निकालिएको छ। सडक सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने निष्कर्षमा सुरक्षा निकायका अधिकारी पुगेका छन्। एम्बुस राखेर गराइएका हिंसात्मक घटना रोक्न र विस्फोटक सामग्रीको ओसारपसार नियन्त्रणका लागि राजमार्ग, नाका र सहायक बाटाहरूमा सुरक्षा व्यवस्था बढाइने जनाइएको छ। विशेष सुरक्षा योजना बनाउने तयारी समेत गरिएको छ।