एन्टिरेबिज भ्याक्सिन लगाउन ढिलाइ हुँदा ज्यान गुमाउँदै सर्वसाधारण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एन्टिरेबिज भ्याक्सिन लगाउन ढिलाइ हुँदा ज्यान गुमाउँदै सर्वसाधारण

rebij

खोटाङ । गत २२ फागुनमा जिल्ला अस्पता दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए । स्वास्थ्यकर्मीले घाउ हुनुको कारण सोधीखोजी गर्दा बालक बताउन तयार भएनन् । फकाइफुल्याइ गरेपछि मात्र बालकले आफूलाई कुकुरले टोकेको खुलाउन तयार भए ।

सुई लगाउनुपर्ने डरले बालकले अन्य कारणले चोट लागेको बताइरहेको खुलेको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वैभव मल्लिक बताउँछन् । बालकलाई एन्टिरेबिज भ्याक्सिनको पहिलो मात्रा दिएर शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको छ । 

केही समयअघि खोटाङकै एक वृद्धलाई कुकुरको सानो बच्चा (छाउरा)ले टोक्यो । तर उनले छाउराले टोकेको जानकारी परिवारका कसैलाई दिएनन् । तीन सातापछि श्वास फेर्न अप्ठ्यारो हुने र पानीसँग डर लाग्ने समस्या देखिएपछि वृद्ध जिल्ला अस्पतालमा पुगे । डा. मल्लिकका अनुसार लक्षणका आधारमा वृद्धलाई एन्टिरेबिज भ्याक्सिन दिइयो तर दुई दिनपछि नै उनको मृत्यु भयो । 

यस्तै, ५ माघमा बेवारिसे कुकुरले टोकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाकी ६७ वर्षीया वृद्धाको ६ फागुनमा मृत्यु भयो । कुकुरले टोकेको दोस्राे दिन वृद्धालाई जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याएर एन्टिरेबिज भ्याक्सिन दिइएको थियो । तर, उनलाई रेबिजबाट बचाउने प्रयास असफल भए ।

एन्टिरेबिज भ्याक्सिनको तीनवटै मात्रा पुरा गरे पनि टोकेको २०/२२ दिनपछि घाउमा अधिक दुखाई सुरु भयो । २८/२९ दिनपछि घाउ भएका दाहिने हात चल्नै छाडेपछि बिरामीलाई टिचिङ अस्पताल पुर्‍याइएको थियो । टिचिङले शुक्रराज सरुवा रोग अस्पताल टेकुमा रेफर गरेलगत्तै बिरामीको मृत्यु भएको हो । कुकुरले टोक्नेवित्तिकै दिइनुपर्ने रेबिज इम्युनोग्लोबुलिन डोज नपाउँदा बिरामीको मृत्यु भएको अस्पतालले जवाफ दिएको आफन्त सोनाम राई बताउँछन् । जुन रेबिज इम्युनोग्लोबुलिन डोज जिल्ला अस्पतालमा उपलव्ध हुन्न । 

जिल्लामा कुकुरको टोकाइबाट घाइते भएका तथा रेबिजका कारण ज्यान गुमाउने व्यक्तिको यकिन तथ्यांक छैन । तर उल्लेखित दुई घटनामा कुकुरले टोकेपछि एन्टिरेबिज भ्याक्सिन दिन ढिलाइ हुँदा घाइतेले ज्यान गुमाउन पुगेको देखिएको डा. मल्लिक बताउँछन् ।

गत ६ कात्तिकमा दिक्तेल बजारका १५ जनालाई बेवारिसे कुकुले टोकेको थियो । त्यसमध्ये दुईजनालाई टेकु रेफर गरियो । केही समयअघि मात्र जन्तेढुंगा गाउँपालिकामा समेत कुकुरको टोकाइबाट दर्जनौं स्थानीय घाइते भएका थिए । बेलैमा भ्याक्सिन दिइएका कारण उनीहरू रेबिज लाग्नबाट बचे । 

कुकुरले टोकेपछि जतिसक्दो छिटो स्वास्थ्य कार्यालय पुगेर भ्याक्सिन लगाउनुपर्ने हुन्छ । बेलामा भ्याक्सिन नपाए भाइरस ब्रेनमा पुग्ने र घाइतेलाई बचाउन सकिन्न । डा. मल्लिकका अनुसार एन्टिरेबिज लगाउनमा हुने ढिलाइकै कारण घाइतेले अकालमा ज्यान गुमाइरहेको पाइएको छ । कतिपयमा अझै पनि कुकुरले टोकेपछि अस्पताल जानुपर्छ/लैजानुपर्छ भन्ने चेतनाकै कमी छ ।

‘सानो छाउराले टोकेको केही हुन्न’ वा ‘सानो चोट लागेको छ केही हुन्न’ भनेर उपचारमा जान गरिने हेलचेक्र्याइँका कारण पनि कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । अझै पनि कुकुरले टोके भने परिवारलाई जानकारी गराउने, जतिसक्यो चाँडो घाइतेलाई अस्पताल पुर्‍याएर भ्याक्सिन दिनुपर्ने चेतनाको अभाव छ । ‘संसारभरि नै रेबिजको उपचार छैन । त्यसको उपचार भनेको टाइममा भ्याक्सिन लगाउने नै हो । समयमा भ्याक्सिन लगायो भने कसैले ज्यान गुमाउन पर्दैन,’ डा. मल्लिकले भने, ‘अहिलेसम्म समयमा एन्टिरेबिज भ्याक्सिन लगाएको मान्छेले ज्यान गुमाउनु परेको छैन । तर भ्याक्सिनले काम गर्ने टाइम हुनुपर्‍यो । यत्तिको चेतना अभाव हुँदा र कतिपय अवस्थामा हुने हेलचेक्र्याइँले रेबिज काल बनिरहेको छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);