काठमाण्डौँ, १ मंसिर । नेपाली काँग्रेसले निर्वाचन प्रचार अभियानमा पार्टी भन्दा बाहिरका युवा पुस्तालाई अधिकतम उपयोग गर्ने रणनीति तय गरेको छ ।
काँग्रेस नेता बालकृष्ण खाँडले कम्युनिष्ट बन्न नसकेका युवाहरुलाई पनि निर्वाचन प्रचार अभियानमा उपयोग गर्न लागिएको जानकारी दिएका हुन् । काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका उनले निर्वाचन प्रचार अभियानलाई सशक्त बनाउन युवा परिचालनमा जोड दिइएको पनि स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित बुद्धिजीविहरुको भेलामा काँग्रेस नेता खाँडले सामाजिक संजाललाई पनि निर्वाचनमा अधिक उपयोगमा ल्याउने तयारी भईरहेको जानकारी दिए ।
काँग्रेस नेता खाँडले बामपन्थीहरुमाथि प्रहार गर्न राष्ट्रियताको नारालाई पनि पार्टीले मिहिन ढंगले अघि बढाईरहेको दावी गरे ।