नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच सुरुभयो वाकयुद्ध, थेग्न सक्ला नेपालले ? | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच सुरुभयो वाकयुद्ध, थेग्न सक्ला नेपालले ?

काठमाडौं। नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ ।  सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो । 

यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका सत्तारुढ दलहरुबीच मतभेद बढिरहेका बेला सो दिन अमेरिकी सहायत विदेशमन्त्री डोनाल्डु लुले नेपालका ठूला तीन दलका तीन शिर्ष नेतालाई फोन गरेका थिए । 

लुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका थिए । 

फोनमा तीनै जना नेतासँग अमेरिकी विदेशमन्त्री लुले स्पष्ट भनेका थिए, ‘एमसीसी अनुमोदन गर्ने तपाईँहरुको कुरा हो । तपाईँहरुले दिएको समयसीमा भित्र अनुमोदन हुनेमा हामी विश्वस्त छौं । हामी अब एमसीसीको समय थप गर्ने पक्षमा छैनौं । यदि एमसीसी अनुमोदन भएन भने हामी नेपालसँगको सम्बन्ध पुर्नविचार गर्नेसम्म पुग्नसक्छौं र चीनको दबाबका कारण यो अनुमोदन हुन सकेन भनेर बुझ्नेछौं ।’ 

अमेरिकी विदेशमन्त्रीको ठाडो चेतावनीपछि नेपालको राजनीतिक वृत्तमा हल्लिखल्ली मच्चियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो चेतावनीले नेपाल र अमेरिकाबीचको सम्बन्ध बिग्रने र यसले अमेरिकाको समेत हित नगर्ने भनी प्रतिक्रिया जनाए । 

यसअघि नेपालमा एमसीसीको विरोध गर्नेहरुले अमेरिकाले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) रोक्न ल्याएको बताउँदै आएका थिए । उनीहरुले एमसीसी चीनको विरुद्धमा रहेको समेत बताउँदै आएका थिए । अमेरिकालाई यस्तो टिप्पणीले नेपालका नेतालाई चेतावनी दिन थप सहज बनाइदियो । यसैमा टेकेर अमेरिकी सहायक विदेशमन्त्री लुले यदि एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण भएको बुझ्ने बताएका थिए । 

अमेरिकाले पहिला ‘फायर’ खोलेपछि त्यसको जवाफ आज चीनले दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवत्ता वाङ वेनबिनले शुक्रबार बेइजिङमा आयोजना गरिएको पत्रकार सम्मेन मार्फत जवाफ दिएका हुन् । उनले अमेरिकी सहायक विदेशमन्त्रीले नेपालका नेतालाई दिएको चेतावनीलाई ‘धम्कीपूर्ण कूटनीति’ बताए । उनले चीन ‘धम्कीपूर्ण कूटनीति’को पक्षमा नरहेको समेत स्पष्ट पारे । 

अमेरिकाले यही फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन गर्न नेपाललाई दबाब दिएको छ, यसमा चीनको धारणा के हो ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले अमेरिकी क्रियाकलापलाई ‘धम्कीपूर्ण कूटनीतिक’ को संज्ञा दिएका हुन् । 

‘नेपाललाई सहयोग गर्न र नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्छ । तर यो राजनीतिक अवस्थाका आधारमा भन्दा पनि नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ वाङले भने ।  

वाङ त्यतिमै रोकिएनन् । उनले अगाडि भने, ‘छिमेकी मित्र राष्ट्र र विकास साझेदार भएको नाताले चीन नेपाली जनताले आफै विकासको बाटो रोज्ने कुरालाई समर्थन गर्दछ । आफ्नो देशको स्वार्थ र जनताको हित हुनेगरी नेपालले लिने निर्णयमा हाम्रो समर्थन रहनेछ ।’ 

गत सेप्टेम्बरमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष देउवाले कूटनीतिक मर्यादा विपरित एमसीसीका अध्यक्षलाई संयुक्त रुपमा पत्र लेखेका थिए । उनीहरुले पत्रमा एमसीसी सम्झौलाई २०२२ को फेब्रुअरीभित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए । 

देउवा र प्रचण्डले पत्र लेखेको कुरा सार्वजनिक हुँदा पनि प्रचण्डले पत्र नलेखेको बताउँदै आएका थिए । यसैबीचमा पत्र नै मिडिया मार्फत सार्वजनिक भयो जसले प्रचण्डको दोहोरो चरित्र बाहिर ल्याइदियो । 

अहिले सत्तारुढ पाँच पार्टीमध्ये कांग्रेस मात्र एमसीसी हालकै अवस्थामा संसदबाट अनुमोदन गर्ने पक्षमा उभिएको छ । अन्य चार माओवादी केन्द्र, नेकपा (एर्ककृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन पास नगरी एमसीसी अनुमोदन गर्न नहुने अडानमा छन् ।

पछिल्ला दिन प्रधानमन्त्री देउवा संसदमा एमसीसी टेवल गर्न हतारिएका छन् । उनको हतारोसँगै सडकमा एमसीसीको विरोध पनि बढेको छ । विरोध गर्ने सत्तारुढ दलहरु नै छन् । एमसीसीका विरोधकर्ता र प्रहरीबीच झडप समेत भएका छन् । 

एमसीसीको विरोध सडकमा भइरहँदा आज काठमाडौंस्थित अमेरिकी दूतावासले समाजिक सञ्जाल फेसबुक मार्फत हिंसा स्वीकार्य नहुने चेतावनी प्रदर्शनकारीलाई दिएको छ । 

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो,’ अमेरिकी दूतावासले फेसबुकमा लेखेको छ, ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’ 

अमेरिकी दूतावासको यो भनाईले भोलीका दिन सडकमा हुने प्रदर्शनलाई झन् भड्काउन मद्दत गर्नेछ । 

एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरुबीच ध्रुविकरण भइरहेका बेला अहिले विश्वका दुई ठूला महाशक्ति राष्ट्रको वाकयुद्ध सुरु भएको हो । यो वाकयुद्धले नेपाललाई नै थप अप्ठेरोमा पार्नेछ । यदि नेपालका नेताहरुले यसलाई बुद्धिमतापूर्ण तरिकाले समाधान गरेनन् भने यसको दुरगामी असर नेपाल र नेपाली जनताले व्यहोर्नु पर्नेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);