माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्षसहित कार्यकर्ता एमाले प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माओवादी र जसपा त्यागेर दुई गाउँपालिका अध्यक्षसहित कार्यकर्ता एमाले प्रवेश

बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एक समारोहबीच एमाले उपाध्यक्ष विष्णु पौडेलले गाउँपालिका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष बनेका हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन तथा जनता समाजवादी पार्टीबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष जितेका रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका अध्यक्षद्वयले तराईको राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने नेता कार्यकर्तालाई समेत प्रवेश गराएका छन् । एमालेले रुपन्देहीको धकधईमा आयोजित एक समूहबीच पार्टी प्रवेश गराएको हो । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेको छ ।

त्यस अवसरमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले एमालेले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने बताए । ‘२०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धन निर्वाचन भाँड्ने र मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दिशामा उद्यत रहेको आरोप लगाउँदै त्यसैको पहिलो प्रहार न्यायालयमा परेको बताए । प्रधानन्यायाधीशमाथिको महाभियोग गठबन्धनको राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले ल्याएको र यसले प्रतिपक्षीसँगको दूरी बढाएको भन्दै यसको एमालेले सशक्त प्रतिरोध गर्ने बताए । ‘राजनीतिक स्वार्थको प्रयोग न्यायालयमा गरियो, यसबाट गठबन्धनले गलत संस्कार र प्रवृत्तिको सुरुवात गरेको छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले कुनै पनि बहानामा निर्वाचन भाँड्ने षडयन्त्र भए त्यसलाई स्वीकार गर्न नसकिने पनि बताए । एमाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि पौडेलको भनाई छ ।

एमाले सचिव छविलाल विश्वकर्माले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गरी बहुमत स्थानमा विजयी हासिल गर्न सक्षम रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);