सरकारकै संरक्षणमा वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौँ, २९ कार्तिक। नेकपा एमालेले सरकारकै संरक्षणमा वाम गठबन्धनका उम्मेदवारमाथि श्रृंखलाबद्ध आक्रमण भएको अरोप लगाएको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एमालेले सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू भइरहेको आरोप लगाएको हो । एमालेले उम्मेदवारहरुमाथि आक्रमण र धम्कीको शृङ्खला नरोकिएको भन्दै सुरक्षा दिन सरकारसँग माग समेत गरेको छ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तीमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर–१ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि मंगलबार बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी–३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

वाम गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेसले अराजनीतिक काम गरिरहेको एमालेको दाबी छ । चुनावी अभियानमा अवरोध पु¥याउन भएको आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले सरकार आफैँ घटनाको योजनाकार त होइन भन्ने आशंका उब्जीएको एमालेको भनाइ छ ।

साथै सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत भएको एमालेको आरोप छ।

विज्ञप्तिको पूर्णपाठ 
आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि साङ्घातिक आक्रमण र धम्कीका घटनाहरू बढन थालेका छन । पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति हामीलाई हुन थालेको छ । चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण भएको छ । आक्रमणमा उहाँ सकुशल रहेपनि अंगरक्षक घाइते हुनुभएको छ । चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

हिजै संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको छ भने सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको छ । चौधरीमाथि मनोवैज्ञानिक दबाब दिने उद्देश्यले चुनावी प्रचारमा हिँड्ने कार्यकर्ता र सहयोगीलाई धम्क्याउने काम स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिने श्रृङ्खलावद्ध योजनाअन्तर्गत भएको हाम्रो बुझाइ रहेको छ । हामी यस्ता अराजनीतिक काम तत्काल बन्द गर्नका लागि समयमै सचेत गराउन चाहन्छौं ।

वामपक्षीय लोकतान्त्रिक गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेस यस्तो अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ । हाम्रो पार्टीका प्रदेश २ संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको छ । सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । हामी यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छौं ।

सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो दिनका घटनाक्रमले देखाएको छ । यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्न चाहन्छौं ।

विष्णु रिमाल
प्रवक्ता

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);