ठाडोभाका संरक्षणमा नयाँ पुस्ता अग्रसर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ठाडोभाका संरक्षणमा नयाँ पुस्ता अग्रसर

लमजुङ । लोपाेन्मुख ठाडोभाका संरक्षणमा लमजुङका नयाँ पुस्ता सक्रिय रूपमा लागिपरेका छन् । युवाहरूकाे याे अभियानलाई स्ठानीय संघसंस्था र सर्वसाधारणले पनि सहयाेग गरिरहेका छन् ।

नेपाली मौलिकता झल्किने र लमजुङे संस्कृतिसँगै जोडिएको प्रचलित भाका हो ठाडोभाका । यही भाकासँग जोडिएको चर्चित नाम हो, भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । ठाडोभाकालाई लामो समयसम्म एक्लै प्रचार गर्नमा स्व. भेँडीखर्के साइँलाकाे याेगदान महत्वपूर्ण छ । 

माया, पिरती, दुःख-सुख, गाउँले जन-जीवनका भाव समेटेर सात दशकसम्म साइँला ठाडो भाका संरक्षणमा लागेका थिए । उनी अहिले हामीमाझ छैनन् । तर पनि उनले गाएका ठाडोभाका भने गुन्जिरहेको छ । यसलाई मर्न नदिन जिल्लामा ठाडोभाका लोककला प्रतिष्ठान र भेँडीखर्के साइँला स्मृति प्रतिष्ठानसमेत स्थापना गरिएको छ । लमजुङको मौलिक लोकभाकाका रुपमा पहिचान बनाएको ठाडोभाकाको तीन दिने निःशुल्क प्रशिक्षणसमेत सम्पन्न भएको छ ।

प्रशिक्षणमा १२ देखि ६५ वर्षसम्मका प्रशिक्षार्थी सहभागी थिए । दोर्दी गाउँपालिकाको प्रवर्द्धन र ठाडो भाका लोककला प्रतिष्ठान नेपालले प्रशिक्षण आयोजना गरेको हो । प्रशिक्षणमा ३७ जना सहभागी थिए ।

सहभागीलाई ठाडोभाकाको गायन, नाच र बाद्यवादनका बारेमा सैद्धान्तिक र प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएको थियो । आयोजक प्रतिष्ठानका संरक्षक एवं ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, वरिष्ठ लोकगायिका सीता दुरा, भाषाविद् मुक्तिनाथ घिमिरे, आयोजक प्रतिष्ठानका आजीवन सदस्य एवं ठाडोभाकाको पहिलो प्रतियोगितामा प्रथम हुने आशबहादुर विक र काशीमाया तामाङले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले लोकसंस्कृतिको संरक्षणका क्षेत्रमा यो प्रशिक्षण उपलब्धिपूर्ण रहेको बताइन् । दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले लमजुङकै पहिचानको रुपमा रहेको ठाडोभाका संरक्षणका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले भने, ‘ठाडोभाकालाई मर्न नदिन स्थनीय तह, प्रदेश सरकारले संरक्षणमा ध्यान दिनुपर्छ ।’

ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले लोककला संस्कृतिको मौलिकता प्रवर्द्धनका लागि स्थानीय र प्रदेश सरकारले समेत निश्चित बजेट छुट्याउनु पर्ने बताए । उनले भने, ‘प्रतिष्ठानको स्थापना दिवसमा आयोजना गर्ने प्रतियोगितामा गुणस्तर टिमको सहभागिताका लागि प्रशिक्षण आयोजना गरिएको हो । ठाडोभाकाको तेस्रो खुल्ला प्रतियोगिता २१ र २२ माघमा  मध्यनेपाल नगरपालिका- १० को ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मस्थल हाँडीखोला, बर्धन गाउँमा  हुनेछ । 

आजीवन ठाडोभाका संरक्षणमा लागेका साइँलाले नागरिक तहबाट ‘ठाडोभाका शिरोमणि’ को उपाधि पाए । तर, उनी जीवित रहिन्जेल राज्यले खासै सहयोग र सम्मान गर्न नसकेको भेँडीखर्के साइँलाको संगत गरेका सुन्दरबजार नगरपालिका-५, तार्कु खहरेका विष्णुभक्त अधिकारी बताउँछन् ।

भेँडीखर्के साइँलाको निधनसँगै संकटको संघारमा पुग्नै लागेको ठाडोभाका जोगाउन उनी पनि लागि परेका छन् । ठाडोभाका जोगाउन सके मात्रै साइँलाको आत्माले शान्ति पाउने उनी बताउँछन् । ठाडोभाका हुर्काउन देउबहादुर दुरा, पञ्चेसुब्बा गुरुङकाे भूमिका पनि उत्तिकै रहेकाे छ । 

पहिले एकान्तमा मात्रै ठाडोभाका गुनगुनाउने विष्णुभक्त पछिल्लो समय खुलेरै गाउँछन् । ठाडोभाका गाउन मादल, मुजुरा र भाका छोप्ने महिलाको समूह चाहिन्छ । युवापुस्ताहरू पनि पछिल्लाे समय ठाडो भाका सुन्न लालयित बन्नेगरेका छन् । ‘तर, गाउनेहरूको संख्या निकै कम छ ।

ठाडोभाका जेगाउन मेलामहोत्सवमा ठाडोभाका प्रतियोगिता सञ्चालन गर्नुपर्छ,’ उनले भने ।  इच्छुक युवापुस्तालाई ठाडोभाका गायनबारे प्रशिक्षण दिनुपर्छ । ठाडोभाकाका शिरोमणिको उपाधि पाएका भेँडीखर्के साइँला (दीर्घराज अधिकारी) को २९ भदाै १९९० बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस-६, दुराडाँडा लमजुङमा जन्मिएका हुन् ।  साइँलाको २६ भदाै ०७४ मा ८४ वर्षको उमेरमा निधन भएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);