काठमाडौं । बुधबार बालाजुबाट ‘हिँउ खेल्छु’ भनेर निस्केका सुजन लामा चन्द्रागिरी नगरपालिका–४ मा मृत अवस्थामा भेटिका छन् । ३० वर्षका लामा बुधवार बिहान ८ बजेतिर घरबाट निस्केका थिए ।
दिदी र आमालाई ‘हिँउ खेल्न जान्छु’ भनेका सुजनले बुवालाई चाहिँ ‘काममा जान्छु’ भनेर गएको पारिवारीक स्रोतले बतायो । राति अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्यहरु खोजतलास गर्न थाले पछि भोलिपल्ट उनि चन्द्रागिरीमा मृत अवस्थामा भेटिएका हुन् ।
महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरबाट खटिएका अनुसन्धान अधिकृतहरुले प्रारम्भिक अनुसन्धानपछि शव त्रिवि शिक्षण अस्पतलामा पठाएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक डाक्टर गोपाल चौधरीले घटनास्थलमा गएर शवको अवस्था हेरेका छन् ।
शवमा बाहिरी चोटपटक नदेखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । कतै सुजनको हत्या भएको वा अन्य केही कारणले मृत्युभएको हो भन्ने कुरा पोष्टमार्टको रिपोर्ट हेरेपछि मात्रै थाहा हुने प्रहरीले बताएको छ । हिँउ खेल्न जाँदा उनी एक्लै गएका थिए कि, साथमा अरु पनि गएका थिए भन्नेबारे प्रहरीले अहिले अनुसधान गरीरेहको बताएको छ । चित्लाङतर्फ मोटरसाइकल जाने बाटोबाट करिब ७ मिनेट परको दुरीमा उनको शव फेला परेको थियो ।