‘डेन्जर मोड’मा देउवा, कांग्रेसको किल्ला भत्काउदै वाम गठबन्धन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन्। गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ।

कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ। विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन्।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले । त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए । ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन्।

गठबन्धनका उम्मेदवार भट्टले चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन् । २७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ । देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ।

कांग्रेसले भने डडेलधुरामा मात्र नभई सिंगै सुदूरपश्चिममा जति विकास निर्माण भएको छ, त्यसमा देउवाको एकल योगदान रहेको दाबी गर्दै डडेलधुरावासीले देउवालाई फेरि पनि भारी मतले जिताउने दाबी गरेको छ । राष्ट्रियस्तरका नेता देउवाको अगाडि भट्टको ‘पुडको छवि’ नै आफ्नो जितको बलियो आधार बन्ने दाबीसमेत कांग्रेसको छ । कांग्रेसले भट्टले जिते सांसद मात्र हुने हो, देउवाले फेरि जिते प्रधानमन्त्री हुन्छन् र उनले नै जिल्लाको बेरोजगारी अन्त्य गर्न र आर्थिक समुन्नतिका लागि थप कार्यक्रम ल्याउन सक्छन् भनेर गठबन्धनको धावालाई मत्थर गर्ने प्रयास गरिरहेको छ।

देउवालाई गठबन्धनको चुनौती चिर्नभन्दा पनि दुईतिर फर्केको पार्टी पंक्तिलाई एकताबद्ध बनाउनु ठूलो सकस परिरहेको छ । डडेलधुरामा बहालवाला पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई गुट छन् । देउवासित आफू मात्र निकट हुन यी दुवै गुटका नेता एक–अर्कालाई सिध्याउने खेलमा थिए । यी दुई गुटबीचकै विवादले पार्टीको सबभन्दा मजबुत पकड भएका अमरगढी नगरपालिका, नवदुर्गा र अजयमेरु गाउँपालिकामा स्थानीय तह चुनावमा लज्जास्पद हार बेहोरेको थियो । कांग्रेसकै अन्तरद्वन्द्वका कारण अमरगढी र नवदुर्गामा एमाले तथा अजयमेरुमा माओवादी स्थानीय तहमा विजयी भएका छन् । स्थानीय चुनावपछि यी दुई गुटका नेता र कार्यकर्ताबीच बोलचाल बन्द भएको थियो । वाम गठबन्धन बनेर पार्टीमाथि चुनौती बढेपछि मात्र दुई गुटका नेताबीच बोलचाल सुरु हुनुका साथै सँगै राजनीतिक गतिविधि गर्न थालेका छन्।

पार्टी विवादले अमरगढी, नवदुर्गा र अजयमेरुको स्थानीय तहमा पराजित भएका कांग्रेस नेताहरू यी दुई गुटबीचको एकताप्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । उनीहरूमा गुटको विवादले आफू हारेको पीडा छ । देउवाले उनीहरूको पीडामा मलम लगाउन सके मात्र उनको पक्षमा माहोल बन्ने स्थानीय बुद्धिजीवी बताउँछन्।

देउवाले दुवै गुटका नेतृत्वकर्ता भट्ट र मल्ललाई प्रदेशसभा सदस्यतर्फ क्रमशस् ‘क’ र ‘ख’ को उम्मेदवार बनाएर पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन् । देउवाले दुवै गुटका अरू नेतालाई समेत प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार बनाएर सबैलाई समेट्न खोजेका छन् । दुवै गुटका नेतालाई उठाउँदैमा जिल्लाको सिंगो पार्टी पंक्ति एकढिक्का हुनेमा अझै आशंका छ । मल्ल र भट्ट समूहका स्थानीय नेता तथा कार्यकर्ताले सँगै प्रचारमा हिँडेर पार्टी एकजुट भएको सन्देश दिन खोजेका पनि छन् तर व्यवहारमा उनीहरू एकताबद्ध हुनेमा कतिपय कांग्रेसी नै विश्वस्त हुन सकेका छैनन्।

वारेसमार्फत उम्मेदवारी दिएका देउवा आफ्नो प्रचार गर्न जिल्लामा आइसकेका छैनन् । कात्तिक ३० मा मात्र जिल्ला आउने उनको कार्यक्रम छ । जिल्ला आएपछि पार्टी पंक्तिलाई एकताबद्ध बनाएर वाम गठबन्धनतर्फको मतसमेत तान्ने वातावरण बनाउन सके मात्र देउवाको जित सुनिश्चित हुने डडेलधुरामा २० वर्षदेखि पढाइरहेका भुवनेश्वरी माविका शिक्षक चूडामणि जोशी बताउँछन् । ‘कडा टक्कर छ । दुईतिर फर्केको पार्टी पंक्तिलाई मिलाउन र वाम मतसमेत तान्न सक्नुभयो भने देउवाले जित्नुहुन्छ, नत्र भन्न सकिन्न,’ जोशीले भने।

कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभातर्फ ‘ख’ का उम्मेदवार मल्लले डडेलधुरा र सिंगै सुदूरपश्चिमको विकास निर्माणमा देउवाको ठूलो भूमिका रहेकाले २७ वर्षदेखि रहेको देउवाको किल्ला यस पटक पनि कायम रहने दाबी गरे । ‘जिल्लामा सुरु भएका विकास निर्माण पूरा गर्न र आर्थिक समृद्धिका लागि पनि जनताले देउवाको विकल्प खोजेका छैनन् । उहाँले फेरि पनि भारी मतले जित्नुहुन्छ,’ मल्लले भने । उनले पार्टीभित्रको आन्तरिक द्वन्द्व पूर्ण रूपमा अन्त्य भइसकेको उल्लेख गर्दै प्रतिनिधिसभामा देउवालाई र प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन कांग्रेस एकढिक्का भइसकेको दाबी गरे ।

शिक्षक जोशीले वाम गठबन्धनका कारण देउवासामु चुनौती बढेको र यस पटकको चुनावमा कडा टक्कर हुने बताए । ‘वाम गठबन्धनका कारण यस पटक देउवालाई कडा चुनौती थपिएको छ,’ उनले भने, ‘डडेलधुरावासीमा अरूले जिते सांसद मात्र हुने हो, देउवा जिते प्रधानमन्त्री हुन्छन् । जिल्लामा बढी विकास निर्माण ल्याउँछन् भन्ने बुझाइ छ । देउवाको जित्ने आधार पनि यही हो ।’ आजको कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);