स्थानीय निर्वाचनलाई फर्केर हेर्दा : चितवनमा कुन दलको अवस्था कस्तो ? दलहरू के भन्छन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्थानीय निर्वाचनलाई फर्केर हेर्दा : चितवनमा कुन दलको अवस्था कस्तो ? दलहरू के भन्छन् ?

matadan kendra

चितवन । चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यातिएको काण्डले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । भरतपुर महानगरपालिका-१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको थिए ।

त्यसपछि वडा नं १९ मा पुनः मतदान गरिएको थियो । भरतपुर महानगरमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरे पनि अन्य पालिकामा भने दलहरू एक्लाएक्लै लडेका थिए । सात स्थानीय तह रहेको चितवनमा विभाजनपछि पनि एमालेको अझै बहुमत छ ।

स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिनै लागेको छ । जिल्लाको स्थानीय तहमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा रहेका छन् । 

देश संघीयतामा गएपछि पहिलो पटक ३१ वैशाख २०७४ मा स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको थियो । आगामी २०७९ जेठमा स्थानीय तहको अर्काे निर्वाचन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा परामर्शमा छन् ।

भरतपुर महानगरको चुनावमा कांग्रेस-माओवादीले गठबन्धन गरेका थिए । पूर्वी चितवनको चारवटै नगरपालिकामा एमालेको बहुमत छ भने माओवादी केन्द्र शून्य छ । कांग्रेसले इच्छाकामना गाउँपालिकाको प्रमुख, उपप्रमुख र भरतपुर महानगरको उपप्रमुख जितेको थियाे । माओवादीले भरतपुर महानगरको प्रमुख र माडी नगरपालिकाको प्रमुखमा जिते पनि बहुमत एमालेकै छ ।

माधवकुमार नेपालको समूहले एमाले छाडे पनि जिल्लाका पालिका प्रमुख र उपप्रमुखमा एमालेकै वर्चस्व छ । सात पालिकामध्ये चार पालिकाको प्रमुखमा एमाले, दुईमा माओवादी र एकमा कांग्रेसको नेतृत्व छ । पाँच पालिकाको उपप्रमुखमा एमाले र दुई पालिकाको उपप्रमुखमा कांग्रेस छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र माडी नगरपालिका प्रमुख ठाकुर ढकाल माओवादीका हुन् । पूर्वी चितवनका रत्ननगर नगर प्रमुख नारायण वन, खैरहनी नगर प्रमुख लालमणी चौधरी, राप्ती नगर प्रमुख प्रभा बराल र कालिका नगर प्रमुख खुमनारायण श्रेष्ठ एमालेका हुन् । इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ कांग्रेसकी हुन् ।

भरतपुर महानगरपालिका

भरतपुर महानगर प्रमुखमा माओवादी-कांग्रेस गठबन्धनकी रेनु दाहालले एमाले उम्मेवार देवी ज्ञवालीलाई २०३ मतान्तरले मात्रै पराजित गरेकी हुन् । दाहालले ४३ हजार एक सय २७ मत प्राप्त गर्दा ज्ञवालीले ४२ हजार नाै सय २४ मत ल्याएका थिए । 

महानगर प्रमुखकै उम्मेदवार राप्रपाका बद्री तिमिल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)का जीवनराम महतोले चार सय १५, नेकपा मालेकी सिर्जना रुवालीले दुई सय ४२ र स्वतन्त्र उम्मेदवार अम्बिका मुडवरीले दुई सय ६ मत ल्याइन् ।

वडा नं १९ को मत गणनाका क्रममा १९ जेठमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि त्यस वडामा पुनः निर्वाचन भएको थियो । महानगरको उपप्रमुखमा पार्वती शाह ठकुरीले ४७ हजार एक सय ९७ मत ल्याएर विजयी भएकी हुन् ।

निकटम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यले ३९ हजार पाँच सय २५ मत ल्याइन् भने राप्रपाकी उम्मेदवार रिना गुरुङले सात हजार दुई सय ५२ मत ल्याएकी थिइन् । फोरमकी निरु कार्कीले एक सय ९२, मालेका सूर्यप्रसाद रेग्मीले एक सय ९८ मत ल्याएका थिए ।

माडी नगरपालिका

माडी नगर प्रमुखको लागि कांग्रेस, माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । माओवादीका ठाकुर ढकालले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार आठ सय ७३ मत ल्याउँदा कांग्रेसका महतोले तीन हजार आठ सय २९ र एमालेका नारदमणी पौडेलले तीन हजार आठ सय २६ मत प्राप्त गरेका थिए । 

नगर प्रमुखमै राप्रपा उम्मेदवार मदनप्रसाद पौडेलले तीन हजार ७३ मत ल्याए । नयाँ शक्ति पार्टी, नेपाल दलित पार्टी र स्वतन्त्र उम्मेदवारले सय मत पनि कटाउन सकेनन् । 

नगर उपप्रमुखमा एमालेकी ताराकुमारी काजी महतोले चार हजार ६ सय ९० मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी माओवादीकी सरिता महतोले तीन हजार आठ सय चार, कांग्रेसकी शिवमाया भट्टराईले दुई हजार आठ सय ४८, राप्रपाकी भिमकुमारी महतोले तीन हजार एक सय ८६ र स्वतन्त्र उम्मेदवार सावित्री पौडेलले एक सय एक मत ल्याएकी थिइन् ।

रत्ननगर नगरपालिका

रत्ननगरमा एमालेका वन १४ हजार ६ सय ७७ मत ल्याएर नगर प्रमुखमा विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका रुपनराज घिमिरेले १३ हजार दुई सय २७ मत ल्याएका थिए । माओवादीका पूर्णबहादुर अमगाई क्षेत्रीले तीन हजार ६ सय ७१, राप्रपाका गोविन्द अधिकारीले ६ सय २८ र मधेसी जनअधिकार फोरमका कृष्ण चौधरीले दुई सय २६ मत ल्याए ।

त्यसैगरी, नेकपा मालेकी पार्वती महतो (कुमाल)ले एक सय ३०, राष्ट्रिय जनमोर्चाका माहानन्द शर्माले एक सय ६० र स्वतन्त्र उम्मेदवार उत्तमराज सिम्खडाले ४० मत ल्याएका थिए । नगर उपप्रमुखमा एमालेकी विमलादेवी दवाडीले १४ हजार चार सय ८१ मत ल्याएर विजयी भएकी हुन् ।

निकटम प्रतिद्वन्द्वी कांग्रेसकी निता ढकालले १२ हजार सात सय तीन, माओवादीकी संगीता भट्टराई रेग्मीले चार हजार २४, राप्रपाकी उर्मिला पासवानले सात सय एक र नेकपा मालेका रामहरि लम्सालले एक सय मत ल्याएका थिए । 

खैरहनी नगरपालिका

खैरहनी नगर प्रमुखमा पनि एमालेकै लालमणी चौधरीले १० हजार सात सय १७ मत ल्याएर विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रप्रसाद चौधरीले नौ हजार सात सय ३३ मत ल्याएका थिए ।

त्यस्तै, माओवादीका एकराज डल्लाकोटीले तीन हजार एक सय ४७, राप्रपाका चित्रबहादुुर विसुरालले ६ सय ४५ र फोरमका चुडामणि चौधरीले दुई सय चार मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी सुनिता खरेलले १० हजार चार सय ५१ मत ल्याएर विजयी भइन् ।

कांग्रेसकी सुशीला देवी उप्रेतीले नौ हजार आठ सय ८८, माओवादीकी रेवती सेढाईले दुई हजार नाै सय २०, राप्रपाकी मन्ज बर्ताैलाले सात सय ३३ र फोरमकी श्यामकुमारी महतोले दुई सय ४८ मत ल्याइन् ।  

राप्ती नगरपालिका

राप्ती नगर प्रमुखमा एमालेकी प्रभा बरालले ११ हजार ६ सय १३ मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी कांग्रेसका किरणभूषण ओलीले सात हजार दुई सय ९२ मत ल्याएका थिए । त्यस्तै, माओवादीका रामचन्द्र पाठकले दुई हजार चार सय ९५ र राप्रपाकी मिराकुमारी बर्ताैलाले तीन सय ३५ मत ल्याइन् ।

उपप्रमुखमा एमालेकै इमानसिंह मुक्तानले ११ हजार आठ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसकी अनिता मैनालीले सात हजार ७४, माओवादीकी कल्पना मोक्तानले दुई हजार दुई सय २६ र राप्रपाका शेषमणि बर्ताैलाले ६ सय २७ मत ल्याएका थिए ।

कालिका नगरपालिका

कालिका नगर प्रमुखमा एमालेकै खुमनारायण श्रेष्ठले सात हजार चार सय ९२ मत ल्याएर विजयी भए । निकटम प्रतिद्वन्द्वी कांग्रेसका कमल आचार्यले सात हजार एक सय ६४ र माओवादीका रामध्वज डल्लाकोटीले दुई हजार तीन सय ७८ मत ल्याए । 

उपप्रमुखमा एमालकै कमला भट्टराईले सात हजार पाँच सय ३५ मत ल्याएर विजयी भइन् । कांग्रेसकी निरुजा श्रेष्ठले ६ हजार सात सय ५०, माओवादीकी सविता लामाले दुई हजार पाँच सय ९३ र राप्रपाकी बुद्धिलक्ष्मी स्याङतानले एक सय ९५ मत ल्याइन् ।  

इच्छाकामना गाउँपालिका

इच्छाकामनाको अध्यक्षमा कांग्रेसकी गीता गुरुङले तीन हजार दुई सय ५४ मत ल्याएर विजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद अधिकारीले तीन हजार ६१ मत ल्याए । त्यस्तै, माओवादीका प्रताप गुरुङले दुई हजार तीन सय ९९ मत ल्याए । 

उपाध्यक्षमा कांग्रेसकै कृतिकुमार श्रेष्ठले तीन हजार तीन सय ८९ मत ल्याएर विजयी भए । एमालेका जुनुराज भण्डारीले तीन हजार ९७ र माओवादीकी सावित्रा सिलवालले दुई हजार दुई सय २९ मत प्राप्त गरिन् ।

सात पालिकामा एमालेको बहुमत

सात स्थानीय तहमा दलित तथा अल्पसंख्यकसमेत गरी पाँच सय २१ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये एमालेको ३०९, कांग्रेसको १७८ र माओवादीको ३३ जना जनप्रतिनिधि छन् । सात पालिकाका ९८ वटा वडामध्ये ५७ वडामा एमाले, ३५ वडामा कांग्रेस र ६ वडामा माओवादीले जितेको थियो । 

एमाले विभाजन भएपछि ११ जना वडाध्यक्षसहित ३६ जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । यससंगै एमालेको जनप्रतिनिधि संख्या २७३ कायम भएको छ । यद्यपि जिल्लामा एमालेकै जनप्रतिनिधिको बहुमत छ । 

भरतपुर महानगरका २९ वटा वडामध्ये एमाले र कांग्रेसले १३-१३ र माओवादीले तीन वडामा जितेको थियो । माडीका नौवटा वडामध्ये पाँचवटामा एमाले, तीनवटामा माओवादी र एकवटामा कांग्रेसले जित हात पारेको हो । रत्ननगरको १६ वडामध्ये एमालेबाट १० जना र कांग्रेसबाट ६ जनाले जिते । 

खैरहनीको १३ वडामध्ये एमालेबाट सातजना र कांग्रेसबाट ६ जना, कालिकाको ११ वडामध्ये एमालेबाट ६ जना र  कांग्रेसबाट पाँचजना, राप्तीको १३ वडामध्ये एमालेबाट ११ जना र कांग्रेसबाट दुईजनाले वडाध्यक्ष जितेका हुन् । इच्छाकामनाको सात वडामध्ये कांग्रेस र एमालेबाट तीन-तीन र माओवादीबाट एकजनाले वडाध्यक्ष जिते ।

भरतपुर महानगरका पाँच, रत्ननगरका चार, राप्ती र माडीका एक/एक वडा अध्यक्षले समाजवादीमा सनाखत गरेका हुन् । यससंगै ४६ वडामा एमालेले नेतृत्व गरेको छ । 

दलहरूको तयारी

स्थानीय तहको निर्वाचनका लागि दलहरूले आन्तरिक तयारी थालेको बताएका छन् । दलहरूसँग चुनावी तालमेलका लागि भने केन्द्रको निर्देशनअनुसार हुने उनीहरूको प्रतिक्रिया छ । 

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वर्तमान राजनीति कांग्रेसको अनुकूल रहेको बताए । चुनावका लागि आन्तरिक छलफलहरू भइरहेकाले कांग्रेस सबै तहमा जित्ने ढंगले अगाडि बढ्ने उनले बताए । जिल्लामा करिब २९ हजार सदस्य रहेको कांग्रेसको दाबी छ ।

२०७४ को चुनावमा पूर्वी चितवनका पालिकामा थोरै मतान्तरले मात्रै कांग्रेस पराजित भएकाले यसपटक जित्ने उनको दाबी छ । आगामी चुनावमा कांग्रेस एक्लै लड्ने र प्रचण्डलाई लखेट्ने अभिव्यक्ति दिएका श्रेष्ठले चुनावी तालमेलको विषयमा मुख खोलेनन् ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले स्थानीय चुनावको लागि पार्टी तयार रहेको बताइन् । चितवनमा एमालेले ठूलो विरासत बोकेकाले आगामी चुनाव एमालेले एक्लै जित्ने उनले बताइन् । ‘एमालेबाट केही व्यक्ति छुट्टिएर गएर खासै असर परेको छैन । त्यसरी जानुभएका धेरै नेता कार्यकर्ताहरू चुनाव घोषणापछि मूल पार्टीमै फर्किनुहुन्छ भन्ने अपेक्षा छ’, उनले भनिन् । उनका अनुसार जिल्लामा एमालेका असोजसम्म १६ हजार सक्रिय सदस्य छन् ।

माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले अघिल्लो चुनावमा पार्टीले तयार गरेको घोषणापत्रको लेखाजोखा र समीक्षा गरी स्थानीय तहको चुनावमा केन्द्रित हुने बताए । जिल्लामा सांगठनिक, वैचारिक र राजनीतिक सुधार भएको बताउँदै उनले पूर्वी चितवनमा पार्टीको सांगठनिक विकास भएको दाबी गरे ।

‘पार्टीको सांगठनिक आधार विकास भएको छ । कुनै बेला एमाले र कांग्रेस ठूलो पार्टी भए पनि अहिलेको उपलब्धिको नेतृत्व माओवादीले गरेकाले जनताले हाम्रो पार्टीलाई विश्वास गर्ने छन्’, उनले भने । जिल्लामा माओवादीको २५ हजार सदस्य रहेको उनले दाबी गरे ।

राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले स्थानीय चुनावलाइ लक्षित गरी वडा तहमा खोल्न थालिएको बताए । पार्टीले पालिकाहरूमा वडा समिति समेत गठन गरिसकेकाले स्थानीय चुनावमा इच्छाकामनाबाहेक सबै पालिकाका वडा तहसम्म उम्मेदवारी दिने उनले बताए । उनका अनुसार राप्रपाको पाँच हजार बढी सदस्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);