'एक विद्यालय एक नर्स' प्रभावकारी बन्दै, विद्यालयमै नि:शुल्क प्याड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

‘एक विद्यालय एक नर्स’ प्रभावकारी बन्दै, विद्यालयमै नि:शुल्क प्याड

अछाम । स्कुलमा पढाइ भइरहेकै बेलामा टाउको, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । अति भएमा नजिकैकाे स्वास्थ्य केन्द्र पुग्छन् । मंगलसैन नगरपालिका-९ वलिगाउँमा रहेको मंगला नेरा माविका छात्राले यस्तै समस्या भाेग्थे । तर, सुदूरपश्चिम सरकारले सञ्चालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने सहज भएकाे छ ।

मंगला नेरा मावि कक्षा १० मा अध्ययनरत छात्रा सृजना रावलले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताइन् । पहिले रजस्वला हुँदा विद्यालयमा प्याड नपाउदा समस्या हुने गरेको भए पनि अहिले भने निःशुल्क सेनेटरी प्याड पाउँदा सहज भएको उनले बताइन्  ।  पहिले स्थानीय स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको थियो । अहिले विद्यालयबाट निःशुल्क प्याड पाउँदा सहज भएको छ ।

सृजना मात्र नभइ सोही विद्यालयमा अध्ययनरत माया भण्डारी पनि विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउँछिन् । ‘विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडी बसेका साथीले जिस्क्याउने गर्थे,’ उनले भनिन्, ‘तर अहिले विद्यालय नर्सले जस्तो सुकै समस्या आउँदा पनि औषधि उपचारका साथै सामाग्री वितरण गर्ने भएपछि सजिलाे भएकाे छ ।’

विशेष गरेर किशोरीले महिनावारीको समस्या धरै भोग्नु परेको थियो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नु पर्ने अर्को समस्या थियो । महिनावारीकै कारण धेरै दिन पढाई छुट्दै आएको थियो ।

करिब २ वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर भण्डारीले बताए  । एक विद्यालय एक नर्सकार्यक्रम सञ्चालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै  समग्र विद्यालयको प्रगति भएकाे उनले बताए । 

विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यानदिन थालेको उनको भनाइ छ । शौचालय गएपछि साबुन पानीले हातधुने बानीको पनि अभ्यास भएको छ। उनले महिनावारी भएको समयमा विद्यालय आउने छात्राको तुलनामा बढ्दै गएको पनि जानकारी दिए  ।

कार्यक्रम सञ्चालनमा आए सँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरि हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको स्कुल नर्स निशा रावलको भनाइ छ ।  ‘यो कार्यक्रमले किशोरीको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भनिन्, ‘विशेष गरेर किशोरीले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् ।’

महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएको बताउनुभयो । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएको स्कुल नर्स रावलको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);