कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ । शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी नै परेको छैन । 

सिंह प्यानलबाट सभापतिमा स्वयं सिंहको उम्मेदवारी परेको छ भने उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी परेको हो । तर, आठ पद रहेको सहमहामन्त्रीमा भने सिंह प्यानलबाट उम्मेदवारी परेन । 

यस्तै सभापतिमा उम्मेदवारी दिएका विमलेन्द्र निधिले पनि आफ्नो समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका छैनन् । उनको प्यानलबाट उसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । 

सिंह र निधि प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी नदिए पनि देउवा र कोइराला समूहबाट भने पदाधिकारीका १३ वटै पदमा उम्मेदवारी परेको छ । 

देउवा प्यानलबाट दुई जना रहने उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का र दुई जना नै रहने  महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । आठ जना रहने सहमहामन्त्रीमा डिना उपाध्याय, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवनबहादुर शाहीको उम्मेदवारी परेको छ । 

यसैगरी, कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको छ भने महामन्त्री मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन् । कोइराला प्यानलबाटै सहमहामन्त्रीमा कमला पन्त, विकास लामा, जीवन परियार, रामकृष्ण यादव, देवराज चालिसे, शेख वकिल, तेजुलाल चौधरी र बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । 

शनिबार मनोनयन दर्ता गराएकाहरूले आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम छ । आइतबार बिहान ११ बजेसम्म उम्मेद्वारी फिर्ताको समय छ भने मध्यानह सवा १२ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । शनिबार नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);