११ माघ, नेपालगन्ज ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउदै निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन सम्पूर्ण देशबासीमा आग्रह गर्नुभएको छ ।
नेपालगञ्जको गणेशमान चौकमा २०४६ सालको जनआन्दोलनका कमाण्डर स्व.गणेशमान सिंहको मङ्गलबार पुर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्तका लागि बर्तमान सरकार प्रतिवद्ध रहेको दावी गर्नुभयो ।
सभापति देउवाले बैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मङ्सिरमा प्रान्तिय र सङ्घीय संसदको निर्वाचनको तयारी गरिएको जानकारी दिनुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रान्तिय र सङ्घीय संसदको निर्वाचन अनिवार्य रहेको भन्दै सभापति देउवाले नेपाली काङ्ग्रेस र बर्तमान सरकार निर्वाचनका लागि प्रतिवद्ध रहेको दावी गर्नुभयो । सङ्घीय गणतन्त्रका योगदानका लागि सबै पक्षलाई मिलाएर लैजान आवश्यक भएको उहाँको भनाई छ ।
सभापति देउवाले मधेसका जनताको भावनाको प्रतिनिधित्व हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरेको बताउनुभयो । पुर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले मुलुकभित्र बैमनस्यता खडा गराएर राष्ट्रियता बलियो नहुने बताउनुभयो । कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष समेत रहनुभएका नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जनताको आवाज नेपालीको आवाज भएको बताउनुभयो ।
अहिलेको अवस्थामा संविधान कार्यान्वयनको बिकल्प छैन, नेता सिंहले भन्नुभयो,–नेपाली जनताको चाहना अनुसार संविधान संशोधन गर्न लागिएको हो । नेता सिंहले संविधान जोगाएपछि सबैका माग क्रमशः पुरा हुदै जाने बताउनुभयो ।
शालिक निर्माण समितिका अध्यक्ष समेत रहनुभएका सांसद मैकुलाल बाल्मीकीका अनुसार, १८ लाख ६१ हजार १२५ रुपियाको लागतमा स्व. सिंहको पुर्णकदको शालिक निर्माण भएको हो । शालिक निर्माणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास तथा जनसहभागितामुलक कार्यक्रम अन्तर्गत १५ लाख रुपिया नेपालगञ्ज उपमहानगरपालिकामा पठाएको थियो ।
उपमहानगरपालिकाले १० लाख ९५ हजारमा स्व. सिंहको शालिक खरिद गरी समितिलाई दिएको अध्यक्ष बाल्मिकीले जानकारी दिनुभयो । चार लाख ५ हजार रुपिया उपमहानगरपालिकाले रोक्का गरिराखेको छ । शालिक अनावरणका समयसम्म करिब चार लाख २५ हजार रुपिया उधारोमा काम सम्पन्न गरेको समितिले जनाएको छ ।