बज्रवाराही धार्मिक वन अतिक्रमण, पुरातत्व गर्‍याे निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बज्रवाराही धार्मिक वन अतिक्रमण, पुरातत्व गर्‍याे निरीक्षण

ललितपुर । ललितपुरको बज्रवाराही धार्मिक वन अतिक्रमण गरी सडक विस्तार सुरु गरेको भन्दै स्थानीयबासी विरोधमा उत्रिएपछि पुरातत्व विभागकाले निरीक्षण गरेकाे छ । 

नेवा एकता नागरिक समाजका अध्यक्ष राजु व्यञ्जनकारले बज्रवाराही धार्मिक वन अतिक्रमणमा परेकोले संरक्षणका लागि निवेदन दिएपछि पुरातत्व अधिकृत प्रकाश खड्काले नेतृत्वकाे टाेलीले निरीक्षण गरेकाे हाे ।

खड्काले प्रारम्भिक अध्ययनका क्रममा पर्खाल निर्माणका क्रममा दुई वटा खट बिसाउने ठाउँ र कुल पूजालाई असर परेको देखिएको बताए । सरोकारवालासँग छलफल र निरीक्षणका आधारमा धार्मिक वन अतिक्रमणबारे रिपोर्ट बन्ने उनले बताए । उनले भने, ‘त्यसपछि के गर्ने भन्ने पुरातत्वले निर्णय गर्छ ।’

गोदावरी नगरपालिकाले पर्खाल निर्माण गरेपछि बज्रवाराहीको मरष्ठी जात्राको खट विसाउने ठाँउमा अवरोध पुगेको स्थानीयबासीले बताएका छन् । स्थानीय अनिल महर्जजले बज्रवाराही मन्दिरबाट नवर्निर्मित बज्रवाराही नगरपालिकाको भवन हुँदै चापागाँउतर्फ खट लैजाने चलन रहेको बताए । ‘खट विसाउने ठाँउमै पर्खाल लगाइएको छ । तोरणभन्दा अगाडि १ फिट मात्रै छोडिएको रहेछ,’ उनले भने ।

बज्रवाराही मन्दिरका पुजारी वावुदेव कर्माचार्यका अनुसार यो जात्रा मंसिर महिनामा हुने गरेको थियो । अष्टमात्रिकाको मूर्ति चोरी भएपछि अहिले केही वर्षदेखि बुलुका स्थानीयबासीले मनाउने गरेका छन् । उनका अनुसार बासीले नयाँ मूर्ति बनाएर अहिले यो जात्रा चलाउने गरेका हुन् ।

अष्टमात्रिकाको खटसँगै गणेशको खट पनि ल्याउने गरिन्थ्यो । त्यो खट विसाउने ठाउँ अगाडि पर्खाल लगाइएको छ ।

श्रीमाई बज्रवाराही धार्मिक वन संरक्षण संर्घाष समितिका संयोजक राजेन्द्र देशारले नवनिर्मित गोदावरी नगरपालिकाको भवन अगाडि सडक निर्माणको क्रममा पर्खाल लगाउदा मरष्ठी जात्राको दुई वटा खट बिसाउने ठाँउ र स्थानीयबासीको कुल पूजा गर्ने स्थल समेत अतिक्रमणमा परेको बताए ।

नगरपालिकाले केही समयअघिदेखि आफ्नो नवनिर्मित भवनअगाडि करिब ५ सय मिटर सडक विस्तारका लागि उपभोक्ता समिति मार्फत ८५ लाख लागतमा सडक विस्तार गर्न सुरु गरेको थियो । नजिकै सडक विभागले गरेको सडक विस्तारका क्रममा भने जंगल अतिक्रमण नगरिसार्वजनिक जग्गामा बाटो विस्तार गरिरहेको छ ।

बज्रवाराही जंगल अतिक्रमण नगरि सडक विस्तार गर्न पर्याप्त सार्वजनिक जग्गा हुँदाहुँदै नगरपालिकाले धार्मिक जंगल अतिक्रमण गरेको भन्दै स्थानीयबासी आन्दोलित छन् । स्थानीयबासीले पर्खाल लगाउने क्रममा दुई वटा रुख काटेको आरोप लगाएका छन् । यद्यपी सडक निर्माणमा सलग्न मजदुरहरुले भने ढलेको रुख काटेको बताएका छन् । वज्रवाराही जंगलको पात पनि घरमा लैजान नहुने मान्यता रहेको स्थानीयबासीहरु बताउछन् । परावुर्व कालदेखि कुवँरहरुले भने यहाँका रुख काटेर लैजाने गरेको एक स्थानीयले बताए ।

वज्रवाराही वन संरक्षणको जिम्मा लिएको ज्योतिदय संघका अध्यक्ष नारायण देशारले मुल सडकको आधा हुने सडक मापदण्ड अनुसार नै सडक विस्तार गरिएको बताए । उनले  भने, ‘अन्य ठाँउमा पनि जंगल मासेर सडक बनाइएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);