कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षको बर्चश्व, चार जिल्लाको परिणाम बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षको बर्चश्व, चार जिल्लाको परिणाम बाँकी

बुटवल । नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका जिल्लामा रामचन्द्र पौडेल पक्षको बर्चश्व देखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आठ वटा जिल्लाको परिणाम आइसक्दा पौडेल पक्षको बर्चश्व देखिएको हो ।

लुम्बिनी प्रदेशको रुपन्देही सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत चयन भएका छन् । सभापति पदमा एकल उम्मेदवारी परेपछि खाँण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । संस्थापन समूहका नेता खाण गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुन् । उनी यसअघि जिल्ला सचिव थिए । कतिपय वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिष्पर्धा भएको रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँणले पहल गरेका थिए ।  

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता ढुंगाना शाह पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा वासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । 

उता, दाङको अधिवेशनबाट सभापतिमा रामचन्द्र पौडेल निकट शंकरप्रसाद डाँगी विजयी भएका छन् । चार जना उम्मेदवार रहेको दाङमा ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेपछि धेरै मत ल्याउने मध्ये दुई जना भुपबहादुर डाँगी र शंकरप्रसाद डाँगीबीच फेरि चुनाव गर्ने तयारी थियो । तर भुपबहादुरले शंकरप्रसाद डाँगीलाई सभापतिमा समर्थन गरेपछि उनी विजयी भएका हुन् । त्यस्तै उपसभापतिमा गिरिराज सुवेदी र कमानसिंह भारती, सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी तथा सहसचिवमा राजु आचार्य र सुवोधकुमार डाँगी विजयी भए । 

त्यस्तै रुकुम पुर्वमा पौडेल पक्षका केशरमान रोका सभापतिमा विजयी भएका छन् भने अर्घाखाँचीमा पनि पौडेल पक्षकै केशव श्रेष्ठले जित हात पारेका छन् । प्यूठान जिल्ला सभापतिमा पनि पौडेल पक्षकै विष्णुकुमार गिरी निर्वाचित भएका छन् । पश्चिम नवलपरासीमा पनि रामचन्द्र पौडेल पक्षकै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन् । त्यसैगरी पाल्पाबाट हिमालप्रसाद श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । उनी पनि पौडेल निकट हुन् । 

गुल्मीको अधिवेशन भने विवादका कारण स्थगित भएको छ । संस्थापन पक्षले जिल्ला अधिवेशन छापामार शैलीमा गराएको भन्दै पौडेल पक्षले पुनः मतदानको माग गरेको छ । गुल्मीको मुसीकोट मतदान केन्द्रको मतपत्रमा संकेत भेटिएपछि मतदान रोकिएको थियो । 

रोल्पाको सभापतिमा भने किशोर आचार्य यसअघि नै निर्वाचित भइसकेका छन् । उनी पनि रामचन्द्र पौडेल पक्षका हुन् । अन्य पदाधिकारीमा पनि पौडेल पक्षले नै बाजी मारेको छ । उपसभापतिमा कविता उपाध्याय र हरिबहादुर पुन, सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा तथा सहसचिवमा गन्जबहादुर क्षेत्री र सुनिलकुमार वली निर्वाचित भएका छन् ।  

कपिलवस्तुमा सोमबारसम्म परिणाम आइसक्ने छ । कपिलवस्तुमा संस्थापन पक्षका राजेश आचार्य र पौडेल पक्षका अब्दुल कलामबीच सभापतिमा प्रतिष्पर्धा भइरहेको छ । बाँके र बर्दियामा पनि सोमबारसम्म परिणाम आइसक्ने बताइएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);