बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास गरेका छन्। बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्याक्रममा बोल्दै गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताए। उनले एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाएका छन् ।
रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने उक्त एकेडेमीको लागत अनुमान १ अर्ब २२ करोड बराबरको रहेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपका पदाधिकारी तथा ईन्जिनियरको टोली सहित कोहलपुर पुगेका मन्त्री गहतराजले त्यसक्रममा निर्माणाधिन अवस्थामा रहेको कोहलपुर क्रिकेट मैदानको अनुगमन समेत गरेका थिए ।