धुवाँले दिएको पीडा : सवारीसाधन हुने अस्पताल तिर कुद्छन्, नहुने घरमै रुँदै बस्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धुवाँले दिएको पीडा : सवारीसाधन हुने अस्पताल तिर कुद्छन्, नहुने घरमै रुँदै बस्छन्

सुनसरी । सुनसरीको इटहरी उपमहानगर–१९ भवानीपुरकी ६६ वर्षीया लिलामाया गिरीका श्रीमानको पाँच महिनाअघि निधन भयो । शारीरिक कमजोर र तीन वर्ष देखिको दम रोगकै कारण लिलामायाले श्रीमान् गुमाइन् । शारीरिक अशक्त भएर थला परेका उनलाई प्रदेश १ मा दुई उपमहानगरले दिएको पीडाले दम रोग देखापर्‍यो ।

आर्थिक अवस्था कमजोर भएको गिरी परिवारले आफ्ना घर मुलीलाई जोगाउन अनेक प्रयत्न गर्‍यो । तर, इटहरी र धरानको फोहोरबाट आएको पिरो धुवाँले लिलामायाको खुसी लुटी छाड्यो । 

उनको खुसी मात्र लुटेको छैन । पीडासमेत दिएको छ । दम रोगकै कारण श्रीमानको साथ छाडेकी लिलामायालाई समेत दुई वर्षअघि दम रोग देखापर्‍यो । उनले दैनिक बिहान र बेलुका औषधि खाइरहेकी छिन् । औषधि खाउन्जेल सन्चो भए पनि श्वास फेर्न, हिँडडुल गर्न समस्या हुने गरेको छ । 
यो पीडा लिलामायाको मात्र हैन । सोही ठाउँकी ५९ वर्षीय हेमकुमारी गिरीको पनि हो । तीन वर्षदेखि उनी पनि दमको औषधि खाइरहेकी छिन् । फोहोरबाट आउने धुवाँले उनलाई श्वास फेर्न समस्या हुने, आँखा पोल्ने, छाती पोल्ने गरेको छ । 

दुई स्थानीय सरकारले जीवनभर दिएको पीडाले आँखामा गहभरि आँसु देखाउन बाध्य छिन् हेमकुमारी । ‘तीन वर्ष भयो औषधि खान थालेको, मेरै उमेरका छिमेकी दिनभरि काम गर्छन् । तर, मलाई किन यस्तो पीडा दियौँ दैव’, उनी भन्छिन् ‘दिनभरि सामान्य भए पनि राति आउने पिरो धुवाँले गाउँ नै तुवाँलोले ढकमक्क हुन्छ । श्वास फेर्न समस्या हुन्छ ।’

दुई गिरीको जस्तै पीडामा रुमलिएका छन् ५५ वर्षीय सुरेश गिरी । मध्यराति आउने धुवाँले श्वासले रोकेपछि ट्याम्पो खोजेर तत्कालै अस्पताल जाने गरेको बताउँछन् । तीन चार घण्टा बाफ लिएपछि बिहानीपख धुवाँ हट्दै गएपछि घर जानेको गरेको उनको भनाइ छ । 

‘कहिले काहीँ मध्यराति १२ बजे नै अस्पताल कुद्नु पर्छ । बाफ समयमा नलिए मर्छु जस्तै लाग्छ’, उनी भन्छन् ‘म जस्ता यो गाउँमा बुढाबुढी, अशक्त २० जना भन्दा धेरै छन् । आफ्नो सवारी साधन छ भने अस्पताल तिर कुद्छन् । केही नहुने रुँदै बस्छन् ।’ 

इटहरीबाट दैनिक ५५ टन र धरान उपमहानगरबाट दैनिक ४५ टन फोहोरको डङ्गुर इटहरी र धरानबीचमा पर्ने चारकोसे झाडीको सेउती खोला आसपास फालिँदै आएको छ । फालिएको फोहोरमा विभिन्न व्यक्तिले आगो लगाउँदा आउने दुर्गन्ध र पिरो धुवाँले इटहरी–१९ का २०० भन्दा बढी घरपरिवार प्रत्यक्ष मारमा छन् । 

भवानीपुरका प्रत्येक घरमा एक न एक जना बिरामी धुवाँ कै कारण बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगर भित्रको फोहोरमैलाको व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्ने प्रस्ट उल्लेख छ । तर, भविष्यमा महानगरको सपना देख्ने दुई उपमहानगरले फोहोरलाई व्यवस्थित गर्न सकेका छैनन् । 

भवानीपुरका स्थानीय जगन्नाथ चौलागाईं यो जनताप्रतिको स्थानीय सरकारले दिएको पीडालाई भुल्न नसक्ने बताउँछन् । लामो समयको समस्यालाई चाँडै हल गर्नुपर्नेमा निजी कम्पनीलाई ठेक्का लिएर सरकार जबाफदेही नबनेको बताउँछन् । 

फोहोर उठाउने कम्पनी त सरकारी पक्ष र स्थानीय जनताबाट पैसा उठाएर फाइदा खान्छ । तर, हामीले भोट हालेर चुनाव जिताएर पठाएका जनप्रतिनिधि र राज्यको करबाट तलब भत्ता खाने कर्मचारीले आमपीडित परिवारको पीडा सुन्न नचाहेको चौलागाईंको आक्रोश छ ।

गतवर्ष भवानीपुरवासीले इटहरी उपमहानगरपालिकाको वातावरण शाखा र फोहोर उठाउने जिम्मा पाएको वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिको कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । पछि तीन  पक्षको सहमतिमा फोहोर फाल्ने स्थानमा आगो निभाउन दमकल पठाउने, निगरानी गर्न हेरालुको व्यवस्था गर्ने भएपछि उनीहरूले ताला खोलेका थिए । तर, गतवर्षको सहमति एक वर्ष नबित्दै तोडिएपछि स्थानीय आजित बनेका छन् । 

नगर दुई, उत्तर एक

फोहोरको व्यवस्थापन गर्न भन्दै इटहरी उपमहानगर, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिसगँ सम्झौता ग¥यो । १५ वैशाख २०७५ मा गरेको सम्झौतामा नौ महिना भित्रमा बायोग्याँस निकाल्ने आधुनिक ल्याण्ड फिल्ड साइड निर्माण गर्ने गरी सहमति भएको थियो । 
कम्पनीले आन्तरिक समस्या देखाउँदै चौथो पटकसमेत म्याद थप गरेको छ । जसका कारण नौ महिनामा बनिसक्नु पर्ने साइडको काम साढे तीन वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । 

उपमहानगरको कमजोरीका कारण कम्पनीलाई निगरानी नगर्नुले साइडको काम पूरा नभएको प्रस्ट देखिन्छ । एकातर्फ सोही कम्पनीलाई फोहोर उठाएबापत मासिक तीन लाख रुपैयाँ दिने अर्को तर्फ निर्माण कार्यमा पटकपटक म्याद थप्नुले आशङ्कासमेत बढाएको छ । 

इटहरी उपमहानगरपालिका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी अब कम्पनीलाई म्याद थप नगर्ने बताउँछन् । उनले समयमा काम नसके पनि अब भने निर्माण कार्य अन्तिम चरणमा पुगेकाले १ मंसिरबाट इटहरीको फोहोर ल्याण्ड फिल्ड साइडमा लाने बताउँछन् । 

साइडको निर्माण ठेक्का पाएको वेष्ट इन्भारो म्यानेजमेन्ट प्रालिका अध्यक्ष मोहन भण्डारी भौतिक प्रगति पूरा भए पनि बाहिरी देशबाट ल्याएका उपकरण जोड्न केही समय लाग्ने बताउँछन् । 

उपमहानगरले सम्झौताअनुसार काम नगरेको कारण निर्माणमा थप समस्या उत्पन्न भएको भण्डारी बताउँछन् । नगरले बिजुली बत्ती जडान गर्नेदेखि सामान्य काम आफैँ बनाई दिने सम्झौता भएको थियो । तर, आजसम्म काममा सहयोग नगरेको भण्डारीको आरोप छ । 

उनले फोहोरलाई मोहोर बनाउने उद्देश्यले निर्माण गरिएको ल्याण्ड फिल्ड साइडमा फोहोर लाने तयारी भएको बताए । ‘हाल चारकोसे झाडीमा फोहोर फाल्दै आएका छौँ, कात्तिक मसान्तसम्मको सम्झौता थियो । अब सकियो २ मंसिरबाट फोहोर ल्याण्ड फिल्ड साइडमा ल्याउँछौँ’, उनले भने ।
यता धरान उपमहानगरपालिका वातावरण शाखा प्रमुख भेषराज घिमिरे अबको केही समयमै चारकोसे झाडीमा फोहोर फाल्न बन्द हुने दाबी गर्छन् ।

लामो समयदेखि निर्माणाधीन आधुनिक ल्याण्ड फिल्ड साइडको काम सकिएको बताउँदै धरानको फोहोर दीर्घकालीन समाधान हुने घिमिरेको तर्क छ । ‘हामी फोहोर फाल्न यसअघिदेखि नै तयार हो । तर, नेपालमा वायोग्याँस उत्पादन गरेर बिक्री गर्ने प्रावधान नभएकाले अब बस्ने मन्पिरिषद्को निर्णयले त्यस विषयमा छलफल गर्ने तयारी रहेको बुझेको छु’, घिमिरेले भने ‘सरकारी पक्षबाट बाधा हट्ने बित्तिकै धरानको फोहोर सेउती बगरमा आउँदैन ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);