मन्त्रालयको टुंगो नलाग्दा प्रदेश २ सरकार विस्तार अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

मन्त्रालयको टुंगो नलाग्दा प्रदेश २ सरकार विस्तार अन्योलमा

जनकपुरधाम । दसैँ समपन्नलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् ।

तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन। मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)लाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्रयाएर १० पुर्‍याएकाे थियो । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा(एस) इच्छुक देखिएको छैन।

जसपाको भागमा रहेको महत्वपूर्ण मन्त्रालयमा नेकपा(एस)ले दावी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी हुन चाहेको छैन ।

मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा(एस) प्रदेशसभामा विपक्षीको लबिमा बस्दै आएको छ ।  सरकारमा सहभागी हुने अनौपचारिक छलफल भए पनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरुप दिन नसकिएको नेकपा (एस) संसदीय दलका नेता शत्रुधन महतोले बताए ।

‘नेकपा (एस)ले दुई मन्त्रालय लिएर सरकारमा जानेछ’, नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्र सरकारमा जानेबारे औपचारिक छलफल हुन्छ ।’

नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरूबीच सरकार विस्तारबारे छलफल भइसकेको उनले बताए । नेकपा (एस)बाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ । गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिँदा प्रदेशमा आर्थिक व्ययभारसमेत थपिएको छ ।

मुख्यमन्त्री राउतले नेकपा (एस)लाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ । अहिले प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस तीन र  माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);